एमाले–माओवादी पार्टी एकता आज………

०३ जेठ २०७५,   काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो। दुई नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने सहमति भएको छ । यस्तै निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ हुने भएको छ । यी विषयको औपचारिक निर्णय बिहीबार बिहान बालुवाटारमा बस्ने केन्द्रीय एकता संयोजन समिति बैठकले गर्नेछ । एकीकृत पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको छ। दुवै दलबीच एकीकृत दलमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । जसमा एमालेबाट दुई सय ४१ र माओवादी केन्द्रबाट दुई सयजना रहनेछन् । एकीकृत पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहनेछ । स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहेनछन् । केन्द्रीय कमिटीमा एमालेको ५४ र माओवादी केन्द्रको ४६ प्रतिशत तथा स्थायी कमिटीमा एमालेको ५९ र माओवादीको ४१ प्रतिशत प्रतिनिधित्व हुनेछ । एकीकृत पार्टीमा पोलिटब्युरो रहने छैन । दुई नेताबीच आगामी महाधिवेशनमा नेतृत्व छनोट सहमतिमा गर्ने सहमति भएको छ । महाधिवेशनसम्म दुई अध्यक्ष रहने सहमति यसअघि नै भइसकेको छ। एमाले स्थायी कमिटीको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष ओलीले एकीकरणबारे ब्रिफिङ गरेका थिए । बैठकले एकता संयोजन समितिले गर्ने निर्णय स्वीकार गर्ने निर्णय गरेको छ । दुवै अध्यक्षको बैठकपछि एमाले उपमहासचिव विष्णु पौडेलले दुवै अध्यक्षले ‘वर्क इन प्रोग्रोस’ भनेको जानकारी दिए । उनले सञ्चारकर्मीसँग भने, ‘बाँकी विषयमा भोलि (बिहीबार) को एकताका संयोजन समितिमा निर्णय हुनेछ ।’ बिहीबार नै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिने भएको छ । अध्यक्ष ओलीलाई उधृत गर्दै एमाले स्थायी कमिटीका एक नेताले भने, ‘बिहान बस्ने पार्टी एकता संयोजन समिति बैठकले यसलाई औपचारिकता दिनेछ ।’ एमालेले पार्टी एकताबारे औपचारिक निर्णय गर्न बिहीबार बिहान केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले केन्द्रीय कमिटीमा केही सदस्य थप गर्नेछ । हाल एमालेको दुई सय सदस्यीय केन्द्रीय कमिटी छ । माओवादी केन्द्रको भने एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी छ। एमालेले जेठ ३ गते मदन स्मृति दिवस मनाउँदै आएको छ । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । बिहीबार बिहान एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बल्खुमा आयोजना हुने मदन आश्रित स्मृतिसभामा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमपछि प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिका सदस्यहरुले वृक्षरोपण गर्नेछन् । बिहान १० बजे एकता संयोजन समिति बैठक बस्ने कार्यक्रम छ । सो बैठकले एकताका बारेमा औपचारिक निर्णय गर्नेछ । त्यसलगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरी एमाले र माओवादी केन्द्रले ६० र ४० अनुपातमा सिट बाँडफाँट गरेका थिए । परिणाम भने एमाले पक्षमा ७० र माओवादी पक्षमा ३० प्रतिशत आएको थियो । दुई दलको गठबन्धनले प्रतिनिधिसभामा दुई तिहाइ स्थानमा विजयी भएर संघीय सरकार बनायो । यस्तै ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार गठन भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर तेस्रो साता सम्पन्न भए पनि राष्ट्रियसभा निर्वाचन नतिजा सार्वजनिक हुन फागुनसम्म पर्खनुपरेको थियो । फागुन २ गते केन्द्रीय पार्टी एकता संयोजन समिति बैठकले ओलीलाई वाम गठबन्धनको प्रधानमन्त्रीका रूपमा अघि सा¥यो । तर पार्टी एकीकरणका विषयमा सहमति जुट्न नसकेपछि माओवादी सरकारमा सहभागी भएन । एमाले र माओवादी केन्द्रबीच आधारभूत वैचारिक विषय र एकीकृत दलमा दुई अध्यक्ष रहने गरी फागुन ७ गते सहमति भएपछि माओवादी सरकारमा सहभागी भएको थियो ।संयोजन समितिले वैचारिक र संगठनात्मक विषयमा सहमति मस्यौदा तयार गर्न छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा वैचारिक कार्यदलले वैचारिक विषय सर्वसम्मत पारित गरेको थियो । माओवादी नेता रामबहादुर थापाको संगठनात्मक कार्यदलमा भने जनयुद्ध, चुनाव चिह्नसहितका विषयमा सहमति जुट्न सकेको थिएन । ती विषयलाई एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच बुधबार भएको बैठकले टुंगोमा पुर्याएको हो । माओवादीको केन्द्रीय कार्यालयको बैठकले बिहीबार साँझसम्म एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आयोगमा दर्ता गरिसकेपछि पत्रकार सम्मेलन गरेर पार्टी एकीकरणको औपचारिक जानकारी दिने निर्णय भएको छ ।’ माओवादी अध्यक्ष दाहालले पार्टी एकीकरणबारे बिहीबार बिहान ७ बजे श्रेष्ठ र रामबहादुर थापासँग छलफल गर्नेछन् । त्यसपछि तीनै नेता मदनआश्रित स्मृति दिवसमा सहभागी बल्खु जाने कार्यक्रम छ । उनीहरुले बल्खुबाट सीधै बालुवाटार गएर एकता संयोजन समिति बैठकमा भाग लिनेछन् । बैठकले पार्टी एकीकरण अनुमोदन गरेपछि माओवादी केन्द्रीय कार्यालयको विस्तार बैठक बस्नेछ । उक्त बैठकले पार्टी विघटन भएको घोषणा गर्ने र एकीकृत पार्टीमा केन्द्रीय सदस्यका लागि दुई सय जनाको नाम चयन गर्ने जानकारी माओवादीका एक नेताले दिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार