मदन—आश्रितको स्मृतिमा एमाले–माओवादी………

जेठ ३, २०७५   चितवन । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उनीहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए । सो अवसरमा आज हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधँै कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पु¥याएको समेत बताएका छन् । कार्यक्रममा बोल्ने नेताले मदन भण्डारीले देखाएको बाटोमा हिँड्दा सफलता मिल्ने बताएका थिए । आश्रितको शव नदीमा गाडीमै भेटिएको थियो भने भण्डारीको भने घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो । उनीहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उनी सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।ताप्लेजुङको हाङदेवामा पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको हो । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा एमाले राजनीतिमा अघि बढ्दै आइरहेको छ । भण्डारीको जिप खसेको स्थल दासढुंगामा चितवन र तनहुँ जोड्ने पुल निर्माण गरिएको छ । सोही क्षेत्रमा १० कट्ठा जमिन खरिद गरी पार्क र अध्ययन केन्द्र निर्माणको तयारी थालिएको एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाले बताए । उनका अनुसार भण्डारीको शव भेटिएको गाँजीपुरमा मदन भण्डारीको शालिक निर्माण गरिएको छ भने उनकै स्मृतिमा पार्क र अन्य भौतिक संरचना निर्माण गर्ने योजना रहेको मदन भण्डारी फाउण्डेसन, चितवनका पूर्वअध्यक्षसमेत रहेका थपलियाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार