निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर……….

०४ जेठ २०७५,   काठमाडौं – विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो। यस्तो कामका लागि सामान्यतः निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो। सेनाले हेलिकोप्टर खरिद गर्दा सैन्य गतिविधि तथा विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने भनेर प्रस्ताव गर्छ। तर पछिल्लो समय सेनाको हेलिकोप्टर निजी क्षेत्रको व्यापारिक प्रयोजनमा प्रयोग हुन थालेको छ। यसमा सेनाको व्यापारिक उद्देश्य र केही अधिकृतको अतिरिक्त आम्दानीको इच्छाले काम गरेको जानकार स्रोत बताउँछ। सेनाको चार्टर्ड हेलिकोप्टरमार्फत एकतर्फी सामान ढुवानी हुन्छ तर पाइटलहरुले त्यसबाट दोहोरो फाइदा लिने स्रोत बताउँछ । ‘एकतर्फी ढुवानी गरेर सम्बन्धित ठाउँमा पुग्ने सेनाको हेलिकोप्टर फर्किंदासमेत यात्रु वा कुनै सामग्री ढुवानी गर्छन्, यसबाट पाइलटले अतिरिक्त आम्दानी गर्छन्,’ स्रोतले भन्यो । पाइलटले प्रतिट्रिप १० देखि १२ लाख रुपैयाँ अतिरिक्त आम्दानी गर्छन् र यसको भाग सरोकारवाला हाकिमहरूसम्म पुग्छ। यस्तो आम्दानी हेलिकोप्टर चार्टर्ड गर्नेले तिर्ने रकमबाहेकको अतिरिक्त रकम हो। निजी क्षेत्रका हेलिकोप्टर र जहाजका सम्पूर्ण गतिविधि अनुगमन हुन्छन्। तर, सेनाका हेलिकोप्टर यसरी निजी क्षेत्रको व्यापारिक काममा प्रयोग भए पनि नियामक निकायको खासै अनुगमन नहुने स्रोतले जानकारी दियो। सेनाले भने प्रतिघण्टाका दरले भाडा बुझाएर सेनाको हेलिकोप्टर जो कोहीले पनि चार्टर्ड गर्न सक्ने जनाएको छ। ‘सेनाको हेलिकोप्टर चार्टर्ड गरेर जो कोहीले पनि प्रयोग गर्न पाउँछ। यो हाम्रो नियमावलीमा उल्लेख गरिएको छ,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने। चार्टर्ड नगरी सेनाको हेलिकोप्टर अरुले प्रयोग नगर्ने उनको दाबी छ। हुम्लामा बुधबार मकालुको जहाज दुर्घटना हुँदा निजी क्षेत्रका हेलिकोप्टर खोजी र उद्धारमा परिचालन भए तर विपत्मा प्रयोग हुने भनिएका सेनाका हेलिकोप्टर त्यसतर्फ गएनन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार