दिकीले चुमिन् सगरमाथाको चुचुरो………..

०४ जेठ २०७५,  काठमाडौं – ‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्। महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने संस्कारलाई बदाल्दै नारीे पनि पुरुष सरह क्षमता देखाउन सक्छन् भनेर प्रमाणित गर्न आफुले सगरमाथाको आरोहण गरेको सेर्पाले बताइन्। शेर्पा बिहीबार विहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहीबार शेर्पा सहिति स्वदेशी र विदेशी गरेर १८ जनाले चुचुरोमा पाइला टेकेका छन्। पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला शसक्तिकरण अभियानको साथ सगरमाथा आरोहण गर्न लागेकी थिए’, आरोहणपछि शेर्पा फोनमा भनिन्, ‘मेरो आरोहणले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धीका रेखाहरु कोर्नुका साथै लैंगिक समानता सहितको समावेशी राज्य व्यवस्था निर्माणमा भूमिका खेल्नेछ। पर्यटन र सहासिक पर्यटनको क्षेत्रमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा आम महिलाहरुलाई अघि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गरिएको उनले बताइन्। शंखुवासभा माइती तथा ओखलढुंगा घर भएकी शेर्पा २०४९ सालमा संखुवासभामा जन्मिएकी हुन्। उनी २०७० सालदेखि पर्यटन पथप्रदर्शकको रुपमा काम गर्दै आएकी छन्। पर्वतीय प्रशिक्षण प्रतिष्ठान तथा नाथुम कलेजबाट गाइड तालिम हासिल गरेकी उनले पर्वतारोहण सम्वन्धि आधारभूत तथा एड्भान्स तालिम पनि लिएकी छिन्। शेर्पाले यस भन्दा पहिले सन् २०१७ मा ६ हजार ४ सय मिटर भन्दा अग्लो मेरा पिक र ५ हजार ९ सय २५ मिटर अग्लो राम्दुङ पिक हिमालको सफल आरोहण गरिसकेकी छन्। त्यसैगरी २०१७ मा संसारको आठौं अग्लो हिमाल मनास्लु (८१६३ मि.) समेत सफल आरोहण गरिसकेकी शेर्पा सन् २०१८ मार्चमा सगरमाथा आरोहण अभियानमा छन्। उनको आरोहरण अभियानलाई पर्यटन सञ्चार क्लबले साथ दिएको छ। यस वर्ष बिहीबारसम्म सगरमाथा १ सय ५९ जनाले सफल आरोहण गरेका छन्। सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए। यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३ सय ४६ जनाले सगरमाथा आरोहणको अनुमति लिएको उनले बताए। आरोहण गर्न बाँकी रहेका आरोही पनि मौसम हेरेर आरोहणको तयारीमा रहेको श्रेष्ठले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार