देउता ढुङ्गा

  टोपबहादुर याक्खा

केटा हो…केही बोल्नु अगाडीको उसको थेगो थियो यो । २०६० सालको भदौमा ईटहरीबाट छात्ती नपाएर संगै भर्ती भएको हामी जोडा अर्थात नम्बरी थियौं । जोडा वा नम्बरी भनेर बोलाउँनु खोज्दा खोज्दै पनि बिर्सिएर हामी सबैलाई केटा हो भन्न भ्याई हाल्थ्यो उ अर्थात नं.२०६.. सैन्य देवेन्द्र धामी । त्यहि केटा हो भन्ने दुई शब्दका कारणले गर्दा नै धेरै पटक लतका (आर्मी भाषामा सजायको भागिदार) मा परिसकेको थियो उ ।
केटा हो…म यस्तो, म उस्तो, मेरो बाउ यस्तो, परिवार उस्तो, म तराईको…हामी पहाडका सोझा साझाहरुलाई उ निक्कै धाक रवाफ देखाउँने गर्दथ्यो । त्यस्तो खानदान परिवारको सदस्य भए नाथे के सिपाहीमा भर्ती हुनु, हामी पनि उसको पछाडी कुरा काट्ने गर्दथ्यौं ।
आफ्नो परिवारबारे जतिनै रवाफ लगाए पनि तालिम र फटिङ गर्नेबेला भने उ सधै पछि पर्ने गर्दथ्यो । तराईको मान्छे, सायद हामी पहाडकाले जस्तो उति दुःख नगरेकाले गर्दा पनि होला तालिममा अझ फटिङ समयमा त मिलेसम्म ठग्ने गर्दथ्यो । तालिम र फटिङमा ठग्न उ अनेक उपाय रच्दथ्यो । ठग्नु पनि १ दिन, २ दिन भए पो गुरुजीहरुको आँखा छल्न सकिन्छ । सधै ठग्न खोज्ने उ प्राय सबै सिनियर र गुरुजीहरुको आँखामा परिसकेको थियो ।
पौष माघको जाडो मौषम, अझ तल सुनकोसीबाट ठोक्किन आई पुग्ने चिसो हावाले त कानै उडाइलगे झै भान हुन्थ्यो । अझ कुनै दिन त तुषारोपात नै हुने गर्दथ्यो रामेछाप डाँडामा । सैन्य (रिक्रुट) तालिमको तालिम तालिका अनुसार हामी एक हप्ताको लागि आउट डोर अभ्यास अर्थात जंगल ट्रेनिङको लागि खरबारी भन्ने एरियाको ठूलो जंगल तिर मुभ हुदै थियौं ।
पूर्व निर्धारित योजना अनुसार हामी रातको ठिक बाह्र बजे अप्रेशन (तालिम) एरिया तर्फ मुभ हुनु पर्ने थियो । दिनभरी पाल, गैती, बेल्चा, पकाउँने ठूलो भाडा, राशनपानी, थप गोली गठ्ठा लगायत आवश्यक बन्दोबस्तीका सामानहरु ट्रयाक्टरमा लोड गरेर सेनाको रेक्की टोली र युनि फाइट प्रहरीको सपोर्ट टिम तालिम एरिया तर्फ दिउसै मुभ भइसकेको थियो ।
ठूला सामानहरु ट्रयाक्टरमा लोड गरेर रेक्की र सपोर्ट टिमसंग पठाएता पनि पर्शनल हतियार, सपोर्ट हतियार, आवश्यक गोली गठ्ठा, खाना पकाउँने मिस्टिन, ओढने ओछ्याउँने, स्लिपिङ ब्याग, झुल, पन्चु लगायत लडाईको समयमा आवश्यक पर्ने सम्पूर्ण सामानहरु साथैमा लिएर जानु पर्ने थियो । सबै सामानहरु ठूलो झोलामा तयार पार्दा ४० के.जी. माथि भएछ, हामी मुभको लागि परेड ग्राउण्डमा रेडी भयौं ।
साँझ खाना खाए पछि मेजर सापबाट स्याण्ड मोडलमा तालिम बारे बृफिङ भयो र तयारी अवस्थामा भएको हामी रातको ठिक १२ बजे अप्रेशन एरिया तर्फ मुभ भयौं ।
रातको समय, टर्चलाइट वा केही पनि बाल्न नपाईने । हिडेर जाने तै कुनै अर्डन नै छैन, त्यत्रो भारी बोकेर पनि तालिम एरिया सम्म दौडेर नै पुग्नु पर्ने । जो दौडिन सक्दैन वा सेक्सनमा छटिृन्छ उसलाई पछाडीबाट गुरुजीहरुले लात र लौरो बर्साई हाल्थे ।
“रगरुट (रिक्रुट) ले पास आउट भइन्जेल सम्म हिडेको देख्न चाहन्न, चाहे भान्सामा खाना खान जादा होस वा ट्वाइलेट जादा” साह्रै कडा थापा थरका जम्दार सापको अर्डर नै थियो । तालिमको दौरान हिड्ने त कुरै भएन । “सेनामा दोस्रोको काम छैन” अर्थात सबै सधै प्रथम हुनु पर्छ भन्ने मान्यता हुन्छ । त्यसैले पनि रामेछाप ब्यारेकबाट मुभ भएर तालिम एरिया पुग्दासम्मको करिब १५ कि.मि. बाटोमा एकाध बाहेक हामी सबैले गुरुजीको लात र लौरोको सुम्लो बोकी सकेका थियौं ।
जंगल ट्रेनिङको ट्रेनिङ एरियामा पुगेर गुरुजी र ट्रेनिङ कमाण्डरको अर्डर अनुसार हामी सबैले एरिया डिफेन्स लियौं र तालिम तालिका अनुसार अगाडी बढ्यौं । त्यो रात तालिमको क्रममा नसुती उज्यालो भयो ।
भोली पल्ट खाना खाने समयको थोरै फुर्सदमा गए राती ब्यारेकबाट तालिम एरिया सम्म आईपुग्दा कसले बढी गुरुजीको लतका भेट्यो भन्ने प्रशंगमा सबैले त्यै देबेन्द्रले भेट्यो होला, हामीले खासखुस गर्यौं । किनकी एक त देवेन्द्र पहाडको बाटोमा दौडिन नसक्ने, अर्को भारी बोक्नै नजान्ने, नसक्ने । तर हाम्रो अनुमान गलत रहेछ । प्राय हामी सबैले गुरुजीको २–४ लात र लौरी भेटेका रहेछौं तर देबेन्द्रले त १–२ मात्रै भेटेछ । कसरी देबेन्द्र अगाडी अगाडी दौडन सक्यो त ? केटा हो दिमाग लगाउँनु पर्छ के दिमाग । उसले त्यसबारे यसरी भेद खोल्यो । उसकै गाउँले ता.सि. (भरखर पास आउट भएको तालिमे सिपाही) ले दिएको जुक्ति अनुसार उसले गोली गठ्ठा बाहेक सबै ओजनदार सामानहरु अगाडी नै ट्रयाक्टरमा पठाएछ र हल्का झुल, ज्याकेट आदीले ठूलो झोला पुटुक्क पारेर भरेछ । हामी ४० के.जी. माथिको भारी संग दौडदा उ ५–६ के.जी. को भारी संग, अनि कसो अगाडी–अगाडी नपरोस पनि ।
तालिम र फटिङमा त अल्छे नम्बर वान नै थियो देबेन्द्र, डरपोकमा पनि उस्तै नम्बर वान । ब्यारेक बाहिर कतै तालिम वा अप्रेशनमा जानु पर्यो भने डरले काप्न थालिहाल्थ्यो । हुन पनि जतातै एम्बुस, मरेको र मारेको समाचारहरु मात्रै आउँने गर्दथ्यो उ बेला । तथापी हामी भन्दा कयौं गुणा डरपोक थियो उ । त्यही जंगल ट्रेनिङकै अन्ततिर मलामीहरुलाई झुक्किएर फायर खोल्दा समेत झण्डै गुरुजीलाई मारेको उसले । हामी सबैले विद्यालय भवन बाहिर अलराउण्ड डिफेन्स लिएर फायर खोल्यौं । तर उ चाहि कक्षा कोठा भित्र पसेर झ्यालबाट फार खोल्दै रहेछ । गुरुजीले कमाण्ड दिदै हाम्रो पोजिशन चेक गर्ने क्रममा झ्याल भित्रबाट आएको एस.एल.आर. राइफलको राउण्डले टाउकोमा लगाएको हेल्मेठ छुदै गएछ । रात भरी हिलोमा फ्रन्ट रोल र ब्याक रोलको सजाय भेटेको थियो उसले ।
तालिमको ७ औं अर्थात अन्तिम दिनको रात । तालिम एरियाबाट विथड्रल भएर हामी रातको १२ बजे ब्यारेक फर्कनु थियो । ७ दिन सम्मको अनिधो र दिन रातको तालिमले गर्दा हामी लखतरान भएका थियौं ।
साँझको खाना खाए पश्चात हामी सबैलाई आफ्नो सम्पूर्ण सामान (ठूलो झोलामा), गोली गठ्ठा, हतियार सहित मुभका लागि रेडी हुने अवस्थामा रोल कलका लागि तयार हुन अर्डर आयो । हामी खाना खाएर जति सक्दो चाडो सामान मिलाएर विद्यालयको ग्राउण्डमा रोलकलका लागि सामेल (भेला) भयौं ।
सबैले आ–आफ्नो हतियार भूईमा राख्ने, सबैको म्याग्जिन, गृनेड, राउण्ड प्याक, म्याट्रेस, तुम्लेट, मिस्टिन, झुल, पन्चु, गैती…। हामी सबैले गुरुजीले भने बमोजिम ठूलो झोला र म्याग्जिन पौचबाट प्रत्येक सामान निकाल्दै आ–आफ्नो अगाडी राख्यौं । तर देबेन्द्रको त झोलामा ज्याकेट, झुल लगायत केही झोला भर्न राखेको हल्का कपडा मात्रै रहेछ । खै तेरो सामान ? कि माओवादीलाई दिइपठाइस ?… लगायतको गुरुजीको लात सहितको प्रश्नमा उसले आफ्नो सामानहरु ट्रयाक्टरमा ब्यारेक पठाइसकेको बतायो । उसले त आफ्ना ओजनदार सामानहरु पनि दिउसै थप बन्दोवस्तीको सामान ब्यारेक फिर्ता लैजान आएको ट्रयाक्टरमा हालेर ब्यारेक पठाइसकेको रहेछ ।
सैन्य ! साप !, रगरुट ! साप ! सेनामा कोही मरिमरि कोही परिपरि हुन्छ, हुन्न साप ! अनि एउटै रासन खाने, एउटै कासन मान्ने अरु चै मरि मरि भारी बोक्ने त… सैन्य चै हामीलाई ठग्ने ।
अब कति छिटो टोलीले यसको झोलामा अट्ने ठूलो देउता ढुङ्गा खोजेर ल्याउँला, रेडी अप…। हामी पाखा जंगलतिर ढुङ्गा खोज्न दौडियौं । सबैले उचाल्न सक्ने ढुङ्गा लिएर खडा भयौं । त्यो मध्ये सबै भन्दा गोलो र उताउती चुच्चो भएको छानेर ठूलो कोरियन झोलामा हाल्ने अर्डर भयो । यस पटक भने पर्शनल बन्दोवस्तीको सामानको सटृा देवेन्द्रले अझ गह्रुङ्गो ढुङ्गा (देउता) ब्यारेक पुराउने भयो ।
जब रातको १२ बज्यो पूर्व निर्धारित तालिम तालिका अनुसार बम पड्एिसंगै हामी बसेको बेस, बनाएको ट्रेन्च आदीलाई क्यामोफ्लाइज गर्दै ब्यारेक तर्फ मुभ भयौं । ट्रेनिङमा आउँदा त गुरुजीहरुलाई छल्न सफल भएर अगाडी–अगाडी दौडेको देवेन्द्रलाई ब्यारेक फर्कदा भने देउता ढुङ्गाले डल्लाउँन सम्म डल्लायो ।
बाटोमा गुरुजीहरुको कुटाई र गाली यति खायो त्यो त भनि साध्य छैन । त्यो भन्दा बढी देउता ढुङ्गाले उसको पछाडी ढाड ढुट्टो बनाएछ । पहाडको चुच्चो ढुङ्गा, नदौडियौ गुरुजीहरु पछिपछि लौरी र लात बर्सि हाल्ने । दौडिदा ढाडमा चुच्चो ढुङ्गा हल्लिएर ढाड ढुट्टो बनाएछ ।
७ दिन ७ रातको अनिधो । बिहान परेड नहुने अलि ढिलो उठेर तालिम बारे रिभ्यू हुने अर्डर आयो । बिहान खाना खाएर हामी परेड ग्राउण्डमा सामेल भयौं । त्यहाँ हामी सबैले ७ दिने तालिम अवधीको आ–आफ्नो अनुभावहरु सेयर गर्नु पर्ने थियो । देबेन्द्रलाई चै भने देउता ढुङ्गा पनि साथैमा थिएर आउँने अर्डर थियो । जब देबेन्द्रको पालो आयो, आफुले गुरुजीहरुको आँखा छलेर तालिममा ठग्न खोज्दा देउता ढुङ्गा बोकेर कुद्नु परेको पीडा सुनाउँदै आउँने दिनहरुमा कहिल्यै पनि तालिममा नठग्ने बाचा गर्यो ।
करिब ३ घण्टा पैदल दुरीमा रहेको खरबारी जंगलबाट ल्याइएको उक्त देउता ढुङ्गा रामेछाप ब्यारेकको परेड ग्राउण्ड केही माथि रहेको क्वाटर गार्ड एरियाको पर्खालमा राखिएको थियो, सायद आज पनि परेड ग्राउण्डमा परेड खेल्ने देबेन्द्र जस्तै सैन्य र सिपाहीहरुलाई जिस्काउँदै ठड्डिरहेको होला ।

(प्रकाशोन्मुख युद्ध डायरीबाट)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार