अब आर्थिक क्रान्ति………….

०५ जेठ २०७५ काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा कम्युनिस्ट पार्टीमा अब कहिल्यै ‘पतझर’ नआउने बताउँदै गर्दा रुकुम चौरजहारीका २० वर्षीय महेश गिरी क्रान्तिकारी नेता चे ग्वेभाराको तस्बिर अंकित टिसर्ट लगाएर बाहिर बगैंचाको हरियालीमा मुस्कुराउँदै थिए। क्रान्ति सकिएकै हो त? क्यामरा सोझ्याउँदै सोधिएको प्रश्नमा उनले छाती चौडा पार्देै जबाफ दिए, ‘क्रान्तिको स्वरुप फेरिएको हो, अब आर्थिक क्रान्तिको बाटोमा लाग्ने हो।’ चार वर्षदेखि तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध गिरीले पार्टी एकता अंकगणितीयभन्दा पनि अन्तरमनीय हुनुपर्ने बताए। ‘अब संख्याको कुरामा अलमलिने हैन,’ उनले भने, ‘सबै एक भएर साझा उद्देश्य बोकेर अगाडि बढ्ने हो। दक्षिण अमेरिकामा जन्मिएका चे ग्वेभाराका उनी प्रशंसक हुन् तर क्रान्ति सोखको रुपमा प्रयोग गर्ने कुरा नभएको उनको बुझाइ छ। ‘क्रान्तिको स्वरुप फेरिएको हो,’ उनले भने, ‘बन्दुकबाट मात्र हैन, समृद्धिबाट पनि क्रान्ति सम्भव हुन्छ भन्ने हामीलाई लागेको छ।’ क्रान्तीप्रति आफ्नो सम्मान रहेको तर समृद्धी आफ्नो चाहना भएको उनले सुनाए।एकता नेताको स्वार्थमा मात्र सीमित रह्यो भने यसले भविष्यमा दुर्घटना गराउने सक्ने कतिपयको बुझाइ छ। पार्टी एकीकरणपछि गिरीको जस्तै धारणा राख्ने थुप्रै भेटिए। अंकगणितीय खेलमा लागेर फेरि को ठूलो को सानो भन्ने हो भने त्यसले सिंगो पार्टीलाई जोखिममा पार्ने त्रास उनीहरुमा छ। त्यसैले मन मिलाएर अगाडि बढ्नुपर्ने सुझाव उनीहरुको छ। ‘केपी ओलीले एकता कार्यक्रममै भनिसक्नु भयो नि, हिन्द महासागरमा पुगेपछि नारायणी र कोसीको पानी खोज्न सकिन्न भनेर,’ नेकपा एमालेमा आबद्ध मोरङ केराबारीका खेमनाथ काफ्लेले भने, ‘विगतमा एकअर्काका विरुद्ध खर्च हुने शक्ति अब विकासमा लगाउनुपर्छ।’ उनले पार्टी एकताले मुलुकको हित गर्ने विश्वास व्यक्त गरे। ‘कुनै एउटा पार्टीभन्दा पनि सिंगो मुलुकको विजयको क्षण हो यो,’ उनले भने, ‘यसको सकरात्मक असर समग्र नेपालीको जीवनमा पर्नेछ। रामेछाप खाँडादेवीका ५६ वर्षीय राजेन्द्रकुमार खड्काले पुराना पिँढीदेखि नयाँ युवा सबैमा एकताले जोस बढाएको बताए। तत्कालीन नेकपा एमालेमा आबद्ध उनले विगतमा माओवादीसँग भएका नमिठा जम्काभेट भुलेका छैनन् तर अब मुलुकको विकासका लागि सँगै मिलेर अगाडि बढ्ने उनले सुनाए। ‘झगडा गर्नेहरु मिलेर विकास गर्ने हो,’ उनले हाँस्दै भने, ‘यो निकै खुसीको कुरा हो। नेकपा माओवादीमा सक्रिय रुपले लागेका कृषक गोविन्द ढकालको बुझाइ पनि उस्तै छ। काभ्रे घर भई हाल राजधानीमा गाईपालनमा सक्रिय उनी बिहीबार पार्टी एकताको रौनक हेर्न राष्ट्रिय सभागृह आइपुगेका थिए । ‘पार्टी एकतासँगै सर्वसाधरणको अनुहार उज्यालो भएको महसुस गरें,’ उनले भने, ‘यो उज्यालो सधैं रहिरहोस्।’ मुलुकको हितमा गरिएको एकता अब कसैले चाहेर पनि तोड्न नसक्ने उनले सुनाए। ‘ठूला ढुंगा गुड्दा अलिकति चोइटा जान सक्ला,’ उनले भने, ‘तर यो एकता दिगो रहनेछ। एकता नेताको स्वार्थमा मात्र सीमित रह्यो भने यसले भविष्यमा दुर्घटना गराउने सक्ने पनि कतिपयको बुझाइ छ। ‘हो, एकपटक मुलुक शान्तिपूर्ण ढंगले विकास यात्रामा लागेको हेर्ने निर्णय गरेका छौं,’ चे ग्वेभारा अंकित टिसर्ट लगाएर सभागृह पुगेका मीनराज पाण्डेयले भने, ‘त्यसो भएन भने फेरि अर्को क्रान्ति हुने सम्भावना उत्तिकै छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार