थोरै बोल्नु तर गहन बोल्नू………..

जेठ ९, २०७५   काठमाडौं – नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा विज्ञमार्फत सांसदलाई पढाएको छ । कांग्रेसले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आफ्ना सांसदलाई एकैठाउँ राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पढाएको हो । सांसदहरूलाई अर्थविद् डा. विश्व पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री डा. रामशरण महत, डा. नारायण खड्कासहित कांग्रेस नेता मीनेन्द्र रिजाल र उद्योगपतिसमेत रहेका सांसद विनोध चौधरीले सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका हुन् । योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसदहरूलाई स्पष्ट पारेको बताए । ‘सरकारले नीति तथा कार्यक्रम त ल्यायो तर वर्षैपिच्छे ल्याउनुपर्ने कार्यक्रम पाँच वर्षका लागि टार्गेट गरेर ल्यायो, यो जनतालाई झुक्याउने गरेर आयो, अर्को वर्षको कार्यक्रम नै केही नहुनेजस्तो देखियो,’ पोखरेलले भने । उनले सांसदहरूलाई नीति तथा कार्यक्रमबारे स्पष्ट पारेको जानकारीसमेत दिए । बैठकले सांसदहरूलाई संसद् बैठकमा कडा रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिएकोे छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा यस्तो निर्देशन दिइएको हो । प्रशिक्षणमा नीति तथा कार्यक्रममा समेटिनुपर्ने सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए । उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमको कार्यन्वयनमा देखिने चुनौती र अहिलेको अवस्थाको विषयमा पनि जानकारी गराइएको बताए । उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने नीति तथा कार्यक्रम र यथार्थताको विषयमा सांसदहरूलाई जानकारी गराएका थिए । पूर्वअर्थमन्त्री महत, अर्थविद् पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रिजालले भने सांसदहरूले संसद् बैठकमा उठाउनुपर्ने कुराहरूका विषयमा सांसदहरूलाई जानकारी गराएका थिए । योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले भने विशेष ‘क्लास’ नै लिएको एक नेताले जानकारी दिए । बैठकमा सांसदहरूले संसद् बैठकमा धारणा राख्दा कम नेताले राख्ने तर गहन विषयलाई उठाउने विषयमा समेत बहस भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार