कुन मन्त्रीको कति छ सेयरमा लगानी ?………..

जेठ ९, २०७५   काठमाडौं– सङ्घीय सरकारका मन्त्रीहरूले धमाधम आफ्ना सम्पत्ति विवरण पेश गरिरहेका छन् । अहिलेसम्म १८ जनाले सम्पत्ति विवरण पेश गरेको प्रधानमन्त्री कार्यालय जनाएको छ । सार्वजनिक गरिएका सम्पत्ति विवरण हेर्दा नेताहरूमा भन्दा तिनका श्रीमतीमा बढी सेयर मोह देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरणमा उनको नामको कुनै सङ्घ संस्थाको सेयर देखिँदैन तर उनकी श्रीमती राधिका शाक्यको भने २५ लाख रुपियाँ बराबरको वचतपत्र रहेको खुलाइएको छ । राधिका नेपाल राष्ट्र बैङ्ककी पूर्व कर्मचारी पनि हुन् । उनले प्रथम श्रेणीको अधिकृतमा रहेर काम गरेकी थिइन् । यस्तै रक्षा मन्त्री ईश्वर पोखरेलको नाममा पनि सेयर देखिँदैन । बरु उनकी श्रीमती मिरा पोखरेलको नाममा भने वरुण हाइड्रो पावरको १० हजार कित्ता सेयर छ भने कृषि विकास बैङ्कको २ सय कित्ता सेयर रहेको छ । मोर्डन कन्या मल्टिपल कलेजमा पनि उनको ५ हजारको सेयर छ । गृहमन्त्री रामबहादुर थापाको पनि सेयर छैन तर उनकी श्रीमतीको नाममा भने अपर तामाकमोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ । उनकी श्रीमतीको नाम नैनकला थापा हो । यता परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भने उनको र श्रीमती दुवैको सेयर खुलाइएको छैन । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनः सम्पत्ति विवरण दर्ता वैशाख ३१ मा गरे पनि विवरण खाली छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको भने रूपाकोट सामुदायिक रेडियो खोटाङमा ५ हजार रुपियाँको सेयर छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको भने सेयर छैन । उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पनि उनको नाममा सेयर देखिएको छैन् तर श्रीमती जुली कुमारी महतोको नाममा गुडविल फाइनान्सको ७० हजार रुपियाँ, एनभीपीएल प्रालिको ३७ करोड रुपियाँ, कर्पोरेट बैङ्कको २ करोड ५० लाख, लक्ष्मी बैङ्कको १ लाख ५० हजार रुपियाँ, महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख रुपियाँ बराबरको सेयर रहेको उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पनि श्रीमतीको नाममा मेगा बैङ्कको २६५ कित्ता, कृषि विकासको ४९ कित्ता सेयर रहेको उल्लेख छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको लालीगुराँस सहकारी संस्थामा १० हजार रुपियाँको सेयर, हाम्रो नव कृषि सहकारी संस्थामा ३ लाख रुपियाँको सेयर रहेको छ । सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि सेयर छैन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको पनि सेयर छैन । सेयर बजार मैत्री नभएको भनिएर चिनिने अर्थमन्त्री डा. युवराज खतिवडाको सबल सहकारी संस्थामा ५ लाख र उनकी श्रीमती कमला खतिवडाको नाममा दुर्गा भवानी सहकारीमा ५ हजार रुपियाँ सेयर रेहको भेटिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कृषि विकास बैङ्कको ४ हजार कित्ता सेयर छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी गण्डकी विकास बैङ्कको २६ हजार रुपियाँ बराबरको सेयर रहेको छ । खानी खोला हाइड्रोपावरको ३० लाख रुपियाँ बराबरको सेयर पनि रेहेको देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादु तामाङको विवरण खाली छ । यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको नामलेखिएको भए पनि विवरण खाली छ । बिना मगरको पनि विवरण खाली छ । उनी खानेपानी मन्त्री हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार