हल्का र हावादारी भएको टिप्पणी………..

१० जेठ २०७५,   काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । तर कार्यशैली हेर्दा हल्का र हावादारी लाग्छन् ।’ देउवाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम र दुरदृष्टि नरहेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रममा कुनै नौलो कार्यक्रम छैन, दुरदृष्टि पनि हेरिएको छैन । एक वर्षमा यति गर्छु, पाँच वर्षमा यति गर्छु भनेर लेखिएको पनि कही पाइएन ।’ देउवाले झन्डै दुईतिहाइ बहुमतको सरकारले ल्याएको नीति तथा कार्यक्रम हेर्दा अवसर गुम्ने हो कि भन्ने चिन्ता लागेको बताए ।देउवाले निजी क्षेत्र उत्साहित हुने गरी कार्यक्रम नआएको बताए । उनले भने, ‘मुलुकमा ७० प्रतिशत लगानी निजी क्षेत्रको छ । तर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति आएको छैन ।’ नीति तथा कार्यक्रमले संघीयता कार्यान्वयन गर्न कानुनी र प्रशासनिक सुधारका कार्यक्रमप्रति प्रतिबद्धता नजनाएको भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे । उनले कार्यक्रम हेर्दा १२ वर्षभित्र दिगो लक्ष्य पूरा हुन नसक्ने बताए ।
देउवाले सरकारले राष्ट्रियताको पाठ पढाउन लागेको भन्दै व्यंग्य गरे । ‘सीमामा सुरक्षा गरिरहेका उत्तरमा बस्ने नेपाली होस् वा दक्षिणमा बस्ने नेपाली होस्, सबै राष्ट्रवादी छन् । तिनलाई राष्ट्रवादको पाठ पढाउनु पर्दैैन,’ देउवाले भने । कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको सोचअनुसार समाजवादको दिशामा जाने गरी वर्तनमा सरकारले नीति तथा कार्यक्रम ल्याएको देउवाले टिप्पणी गरे । उनले भने, ‘सुरुमा १३ अर्ब मात्रै राजस्व संकलन हुन्थ्यो, अहिले सात सय ३० अर्ब राजस्व संकलन हुन्छ ।’ देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ‘सम्मानीय र महोदय’ भनेर सम्बोधन नगरी नीति तथा कार्यक्रम पेस गरेको आरोप लगाए । उनले त्यसलाई संशोधन गर्न पनि माग गरे। कांग्रेस सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम अपूर्ण रहेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रममा स्पष्ट खाका आएन, एक वर्षमा के गर्ने ? पाँच वर्षभित्र के गर्ने र १० वर्षभित्र के गर्ने ? भन्ने आउनुपथ्र्याे ।’ उनले नीति तथा कार्यक्रममा राखिएको ‘एउटा मान्छे भोकै बसे, देश नै भोकै हुनेछ’ भन्ने कविताले अर्थतन्त्रको विकास हुन नसक्ने बताए। संघीय समाजवादी फोरमका प्रदीप यादवले सरकारको नीति तथा कार्यक्रम सपना बाँड्ने काममात्र भएको आरोप लगाए । उनले भने, ‘सरकार आफंै ढुकुटी खाली छ भन्छ, फेरि हुलाकी सडकदेखि मदन भण्डारीको नामको नयाँ सडक बनाउँछु पनि भन्छ । खोक्रो राष्ट्रवादको नाराले बाटो बन्दैन,’ यादवले भने, ‘त्यसमाथि, संविधान संशोधन र धारा ४२ को कार्यान्वयनको प्रतिबद्धता पनि छैन ।’ राजपाका नेता अनिलकुमार झाले नीति तथा कार्यक्रममा कम्युनिस्ट पार्टीको चासोका योजनामा मात्र निर्माण अवधि तोकिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘पर्यटनमन्त्रीज्यूको क्षेत्रको विमानस्थल तीन वर्षमा बन्ने, अर्कोको एक वर्षमा बन्ने भनिएको छ तर हुलाकी सडक कहिले बन्ने ? त्यसको मिति खै ?’ सत्ता पक्षका सांसदले भने नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् । नेकपाका सांसद ओनसरी घर्तीमगरले आर्थिक समृद्धिको मेरुदण्ड मानिएको जलस्रोतको अधिकतम उपयोग गरी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने देखी कृषि, वन तथा खानीजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीतिको प्रशंसा गरेकी छन् । नेकपाका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रम ‘समृद्धिको आधार वर्ष’ भएको उल्लेख गर्दै लक्ष्यप्रति सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे । ‘प्रतिपक्षको धर्म विरोध गर्ने हो, यो स्वाभाविक हो तर सरकारले आफ्नो लक्ष्य पूरा गर्नेमा विश्वास गर्ने ठाउँ छ,’ पौडेलले भने, ‘राजनीतिक स्थायित्व लगभग भइसकेको अवस्थामा विकास र समृद्धिको दिशामा जान प्रतिपक्षले रचनात्मक भूमिका खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार