पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला तस्करी………

१४ जेठ २०७५,   काठमाडौं – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्। गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो। अस्पतालमा बुझाउनुपर्ने कागजपत्रमा छोरो देखाउने तर छोरा नभई अर्कै व्यक्तिको मिर्गाैला झिकेर प्रत्यारोपण गरेको आरोपमा बस्नेत पक्राउ परेका छन्। पीडित गिरीका आफन्त प्रह्लाद गिरीका अनुसार काका पर्ने लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग थर्कको छोरा आशिषको चिनजान थियो । थर्कले उनीहरुमार्फत गिरीको मिर्गौला निकालेर प्रत्यारोपण गरेका थिए। बस्नेतले आफ्नो छोरा आशिषका नाममा नक्कली कागजपत्र तयार गरी मिर्गौला प्रत्यारोपण गरेको उजुरी महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा परेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। कुमार मानसिक अवस्था कमजोर भएका व्यक्ति हुन्। अस्पतालमा नाता प्रमाणित जाँच गर्न छुट्टै समिति रहे पनि कसरी नक्कली कागजका आधारमा मिर्गौला झिकियो भन्ने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण प्रसाईले बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। ‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्। हामी थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने। अनेक प्रलोभन देखाई पत्थरीको उपचार गराइदिन्छु, यसलाई पत्थरीको समस्या रहेछ भनी फर्जी नाता प्रमाणितको कागजसमेत बनाई बायाँतर्फको किड्नी निकालेका रहेछन्,’ जाहेरीमा उल्लेख छ, ‘हाल यसरी झुक्यानमा पारी किड्नी निकाल्ने र हाल्न सहयोग गर्नेहरु फरार छन्। पीडित र परिवारलाई पीडकका तर्फबाट प्रलोभन दिने र धम्क्याउने काम भएकाले आवश्यक अनुसन्धान गरी कारबाही गर्न विनम्र अनुरोध गर्दछु’, पीडित कुमार गिरीका आफन्त प्रह्लादले दिएको जाहेरीमा उल्लेख छ।प्रह्लादका अनुसार गत वैशाख १० मा उनको मिर्गौला झिकेर बस्नतेलाई प्रत्यारोपण गरिएको थियो। बस्नेतले मिर्गाैला झिकेपछि गिरीलाई नागार्जुनस्थित एक आफन्तको घरमा लगेर राखेका थिए। पत्थरीको शल्यक्रियाका लागि भन्दै बस्नेत परिवारले गिरीलाई दुई महिनासम्म पालेको प्रह्लादले बताए। ‘कुमारको शरीरमा चिरिएको देखेपछि खोधखोज गर्दा मात्रै मिर्गौला झिकेको पाइयो। त्यसकारण प्रहरीमा उजुरी गरेका हौं’, उनले भने । प्रहरीका अनुसार मिर्गौला झिक्न सहयोग गर्ने उनकै काका पर्ने डिल्लुराम गिरी र लालचन्द्र गिरी तथा बस्नेतका छोरा आशिष फरार छन्। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले आफूलाई यसबारे जानकारी नभएको बताए। ‘म विदेश गएको थिएँ, भर्खरै नेपाल आउँदैछु के भएको रहेछ बुझ्नेछु’, श्रेष्ठले भने। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध ऐन २०५५) अनुसार परिवारका सदस्य वा नजिकका आफन्तबाहेक अन्य व्यक्तिको मानव अंग प्रत्यरोपण गर्न पाइँदैन। परिवारका सदस्य भन्नाले प्राथमिकताअनुसार पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्दछन्। नजिकका नातेदार भन्नाले अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्ममुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबाबु, ठूलीआमा, काकाकाकी, सानोबाबु, सानीआमा, भतिजाभतिजी, सासूससुरा, जेठाजुजेठानी, देउरानी, नन्ददेवर, भाउजूबुहारी, मामामाइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदाभदै, भिनाजु, ज्वाइँ, जेठान पर्दछन् । तर धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र÷धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धका हकमा कम्तीमा दुई वर्षदेखि अटुट रुपमा नातासम्बन्ध कायम रहिआएको हुनुपर्ने उल्लेख भए पनि बस्नेत र गिरीबीच नातासम्बन्ध देखिएको छैन।

यसरी हुन्छ मिर्गौला तस्करी

मिर्गौला दिने व्यक्तिलाई ५० हजारदेखि एक लाखसम्म दिएर दलालले सातदेखि १० लाखसम्ममा बेच्ने गरेका छन्। काभ्रेका दुर्गम गाउँमा गएर दलालहरुले सोझासीधा नागरिकसँग मोलमोलाई गरी मिर्गौला तस्करी गर्दै आएका छन् । यसअघि यसरी प्रलोभन वा दबाब देखाएर दलालले नै गाउँका सर्वसाधारणलाई भारतसम्म मिर्गौला तस्करी गर्न लैजाने गरेका घटना बाहिर आएका थिए । तर नेपालकै अस्पतालमा सार्वजनिक भएको यो पहिलो घटना हो। प्रहरी स्रोतका अनुसार चिकित्सकहरूले हामीसँग मिर्गौला छैन भन्दै दलालसँग भेटाइदिने गरेका कारण पनि मिर्गौला तस्करीलाई सहज भइरहेको छ। दलालले बिरामीको आवश्यक जानकारी लिएपछि उनीहरु सोहीअनुसार मिर्गौला र रगतको समूह मिल्ने व्यक्तिको खोजीमा लाग्छन्। मिर्गौला तस्करी गर्ने दलालले एउटै घरको मान्छे भएको प्रमाण जुटाउन नक्कली नागरिकता बनाउनेदेखि सम्पूर्ण आवश्यक कागजपत्र जुटाउँछन्। त्यसपछि मात्र भारतको मद्रास, चन्डीगड, गंगाराम, एपोलोजस्ता अस्पतालमा लगेर मिर्गौला प्रत्यारोपण गराइन्छ। अहिले तस्करहरुले नेपालकै अस्पतालबाट पनि मृर्गौला प्रत्यारोपण गर्न थालेका छन्। मिर्गौला तस्करीको आभियोगमा १० वर्षअघि चितवनबाट भारतीय डा. अमित कुमार पक्राउ परेका थिए। यसअघि २० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका ११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको थियो। गोरखा घर भएका शम्भुलाल श्रेष्ठलाई उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। कागजी प्रक्रिया पूरा गरी गर्न दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएर आफन्त भएको प्रमाणित गरेका थिए। मिर्गौला झिक्नुअघि चार महिना खत्री श्रेष्ठकै घरमा बसेका थिए। तर, सहमतिअनुसार दलालले रकम नदिँदा एक वर्षपछि सो घटना बाहिर आएको थियो। मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन ऐनअन्तर्गत मुद्दा दायर हुन्छ। सो ऐनको दफा ४ को ‘ग’ मा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने कार्यमा संलग्नलाई मानव बेचबिखन ऐन आकर्षित हुने व्यवस्था छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार