तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका………

१६ जेठ २०७५,  जुम्ला – रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो। अबैधरुपमा रुकुमको नरसिंह बालगृहमा पुगेका २४ जना बालबालिकालाई सरोकारवाला निकायले उद्धार गरेर घर फर्काएपछि पत्रकार सम्मेलन गरेर भिभावकलाई बुझाईएको हो। गत बैशाख ५ गतेदेखि १० गतेसम्म दुई चरणमा पातारासी गाउँपालिका १ र २ बाट २४ बालबालिका गैरकानुनीरुपमा रुकुम पु-याएको थियो। अभिभावकको दबाबमा वडापालिका अध्यक्षको सफारिसबाट ति बालबालिका अबैधरुपमा रुकुम पुगेका थिए। पढ्न भनेर लिइएका बालबालिकालाई बेहाल अवस्थामा फेला पारेपछि उद्धारका लागि सबै सरोकारवाला लागिपरेका थिए। अनथालयमा पढाउने भन्दै वडा नं १ का २० र २ का ४ जना बालबालिकालाई पश्चिम रुकुमको अवैधानिकरुपमा चलेको नरसिंह बालगृहमा राखिएको थियो। ८ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ बालिका र १५ जना बालक रहेका छन्। जिल्ला बाल कल्याण समिति रुकुम, मुसिकोट नगरपालिका, महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा बालबालिकालाई फर्काएर परिवारको जिम्मा लगाइएको हो। शिक्षाबाट बञ्चित नहुन भन्दै उनिहरुलाई प्यान ईन्टरनेशनल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले एक/एक जोर कपडा, जुत्ता, मोजा तथा एक/एक दर्जन कापी, कलम सहित ज्यामेति बक्स लगाएत प्रयाप्त स्टेशनरीका सामाग्री उपलव्ध गराएर घर फकाइएको छ। बालबालिकालाई आफन्तको जिम्मा लगाँउदै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले ओसारपोसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताए। तस्करीको मुखबाट बालबालिकालाई फिर्ता ल्याउन सहयोग गर्ने मिडिया र सबै निकाय तथा ब्यक्तिप्रति उनले धन्यबाद दिए। अवैधरुपमा ललाई फकाई बालबालिका ओसारपसार गरेको भेटिएमा कडाभन्दा कडा सजाय दिलाइने उनले बताए। गाउँमा धर्म, जात र सेवाको नाममा बालबालिकालाई पढाउँछु वा उसको भविष्यको जिम्मा लिन्छु भन्दै आउनेहरुलाई समातेर तत्काल प्रहरी, प्रशासनलाई खबर गर्न प्रजिअ अधिकारीले अभिभावकसँग आग्रह गरे। महिला विकास अधिकृत गोमा प्रसाँईले बालबालिका तस्करीको मुखमा पुग्नु अभिभावकको कमजोरी भएको बताइन्। आमाबाबाको काखमा बसेर पढ्ने लेख्ने उमेरमा माया मारेर आफ्नो बच्चालाई बिचौलियाको जिम्मा लगाउनु अभिभावकको गल्ती भएको उनको भनाई छ। उनले भनिन, अभिभावक सचेत र जागरुक नभए कैयन बालबालिका तस्करीको जालोबाट उम्कन सक्ने छैनन्। यसका लागि स्थानीय तहले कडाई गर्न जरुरी छ।

ओसारपोसार संलग्न ६ प्रहरी नियन्त्रणमा

प्रहरी नायब उपरिक्षक डा.तपन कुमार दाहालका अनुसार बालबालिका ओसारपोसारमा संलग्न माथि अनुसन्धान भइरहेको छ। उनले भने– बालगृह संचालक रुकुमका विबेक बुढा, सिफारिस दिने वडाध्यक्ष दत्तबहादुर बुढा र कन्न बोहोरा, ओसारपोसारमा संलग्न पासाङ लामा, चन्द्रमले बुढा र सिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। आफ्ना बालबालिका बुझ्दै अभिभावकहरुले उच्च शिक्षासम्म पढाई दिने आश्वासन दिएपछि आफ्नो बच्चा बालगृहमा लैजान स्विकृति दिएको बताएका छन्। ‘गरिबिका कारण सबै बालबालिकाको पालनपोषण गर्न सकिएन। अलिकति सहज होला भनेर छोरीलाई उनिहरुको जिम्मा लगाएको हुँ’, निरु ऐडिका बुवा प्रेमबहादुर ऐडीले भने, ‘हामीले छोरीलाई नर्कमा पठाउन खोजेका रहेछौँ। अब काम गरेर पनि आफ्नै साथमा राखेर पढाउँछु।’ उनिजस्तै आफ्नी दुई छोरी र एक छोरा बालगृहलाई जिम्मा लगाएका ४ सन्तानका बुवा गोबरधन ऐडिले भावुक हुँदै मायाभन्दा गरिबिले छोराछोरी पराईको जिम्मा लगाएको स्बीकार गरे। त्यसैगरी गत ०७४ पुस २५ गते पातारासी ३ का २० जना बालबालिकालाई लामा भाषा पढाउने भन्दै भारत लइजादै गरेका बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको थियो। बालबालिकालाई भारत लिने पातारासी गाउँपालिका ३ का २९ वर्षीया छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ वर्षीया कार्मा तामाङलाई पुस २५ गते पक्राउ मानव बेचविखन तथा ओसारपोसारमा मुद्दा चलाएको थियो। आरोपित दुवै जनाले जनही एक÷एक लाख धरौटी बुझाएका ०७४ पुस १७ गते छुटेका थिए। बैशाख २० गते जिल्ला न्यायधिस प्रकाश ढुंङगानाले निमित्त श्रेस्तेदारको आदेश पुर्नविचारमा आदेश बदर भएकोले आरोपित व्यक्तिलाई थुनामा राखेर मुद्दा चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाले जनाएको छ। आरोपित व्यक्तिहरु अहिले अदालतको फरार सूचिमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार