वायुपंखीको नारा कछुवा शैलीको परिणाम……….

१७ जेठ २०७५,   काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक चौथाइभन्दा कम विकास बजेटले मुलुकको आर्थिक विकास र समृद्धि यात्रा पूरा हुन नसक्ने ठहर गरेको छ । सरकारले आर्थिक वर्ष २०७५- ०७६ को बजेट सार्वजनीक गरेको भोलिपल्ट बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेट आम नागरिकको आशाअनुरूप आउन नसकेको ठहर गरेको हो । बजेटले स्पष्ट प्राथमिकता सहित योजनाबद्ध रूपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको आरोप लगाउँदै कांग्रेसले स्रोतसाधनले धान्न सक्नेभन्दा प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्तले वाह्य निर्भरता बढाउने जनाएको छ। एक चौथाइभन्दा कम हिस्सा मात्रै विकास खर्च छुट्याइएको छ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यस्तो असन्तुलनको जगमा उभिएर समृद्धि हासिल गर्ने चुनौती एकातर्फ देखिन्छ भने विगतदेखि सञ्चालित विकास परियोजनाको सुरक्षित अवतरणमा बजेटको गम्भीरता देखिएन ।’सहज राजनीतिक अवस्थामा पनि बजेटमा नयाँशक्ति, भिजन र कार्यक्रम आउन नसकेको जनाउँदै पार्टी प्रवक्ता शर्माले भने, ‘यो बजेट कांग्रेसले लिएको नीति र कम्युनिष्ट पार्टीको परम्परागत शास्त्रीय दर्शनको दोबाटोमा अस्पष्ट र अन्त उभिएको छ । ‘वायुपंखीको नारा कछुवा शैलीको परिणाम’ मुलुकको अपेक्षा किमार्थ थिएन।’ प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई कम्युनिष्ट पार्टीका घोषणापत्र मतदाताको मतलाई बढी नै प्रभावित गर्ने खालको स्मरण गर्दै प्रवक्ता शर्माले बजेट त्यसतर्फ केन्द्रित नभएको आरोप लगाए । ‘घोषणापत्र आकाशको तारा झारेर नागरिकको हातमा राख्नेछौं भन्ने प्रकृतिको थियो,’ उनले भने, ‘नीति तथा कार्यक्रममा आइपुग्दा त्यो पारो क्रमशः झ¥र्यो र बजेटमा पुग्दा सपनाको इन्दे्रणी रंग खुइलिएको चित्र प्रष्ट छ।’ केही महिनाअघि श्वेतपत्रमार्फत मुलुकको अर्थतन्त्र धरासायी रहेको सरकारले ठहर आगामी वर्ष ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्यले उसकै धारणा खण्डित गरेको आरोप लगाए । कांग्रेसले महत्वाकांक्षी वृद्धिदर हासिल गर्नेगरी बजेटले भरपर्दो कार्यक्रम तर्जुमा गर्न नसकेकोे ठहर गरेको छ। बजेटले आफ्नो मुख्य प्राथमिकतामा रोजगारी सिर्जनालाई केन्द्रमा राख्नु सकारात्मक छ तर रोजगारी सृजनाको श्रोत सरकार नै हो भन्ने परम्परागत शास्त्रीय दर्शनबाट मुक्त हुन नसकेको कांग्रेसले जनाएको छ । ‘स्थिर पुँजी निर्माणमा ७० प्रतिशतभन्दा बढी भूमिका राखिराखेको नीजि क्षेत्रलाई बजेटले प्रोत्साहन गर्न सकेन,’ उसले भनेको छ, ‘नीजि क्षेत्रको व्यवसाय निरुत्साहित हुन सक्ने जोखिमले रोजगारीको सिर्जनामा प्रतिकूल असर पर्न सक्छ । त्यसैले वेरोजगार युवाका लागि शब्दमा दिएको आकर्षण व्यववहारत ‘शितल मिठाई’ मा परिणत नहोस्।’ महत्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य बजेटले लिएको छ तर करको दर बढाउने कार्यक्रमवाहेक नयाँ कार्यक्रम र कुनै दूरगामी भिजन बजेटमा नभएको कांगे्रेसको टिप्पणी छ । ‘राजस्वको आकार पर्याप्त ढंगले बढाउन सकेन,’ कांग्रेसले भनेको छ, ‘कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य प्रंशशनीय छ तर त्यसका लागि जारी सिंचाइका राष्ट्रिय गौरवका चार आयोजना तीव्र ढंगले सम्पन्न गर्ने कार्यक्रमतर्फ बजेट केन्द्रित देखिएन । असन्तुलनको जगमा उभिएर समृद्धि हासिल गर्ने चुनौती एकातर्फ देखिन्छ भने विगतदेखि सञ्चालित विकास परियोजनाको सुरक्षित अवतरणमा बजेटको गम्भीरता देखिएन । प्रधानमन्त्रीले राति हैन दिउँसै खुला आँखाले देखेको सपना भनेर प्रचारित पानी जहाजको विषय साँझपख जारी बजेटबाट गायव भएको जनाउँदै कांग्रेसले भनेको छ, ‘चुल्हा–चुल्हामा ग्यास पुर्याउने विगतको अभिव्यक्तिप्रति बजेट मौन छ। कांग्रेस नेतृत्व सरकारले ६५ वर्षमा नै वृद्ध भत्ता दिन गरेको निर्णय बजेटमा समाहित नगरिएकोमा असन्तुष्टि जनाएको छ । ‘मृगौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्तावापत मासिक ५ हजार रुपैयाँ उपलव्ध गराउने कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले गरेको व्यवस्थालाई बजेटमा प्रवन्ध नगरिनु आपत्तिजनक छ,’ कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एकहदसम्म राहत पुग्ने यो कार्यक्रम निरन्तरता नदिइनु मानवीय दृष्टिले पनि विल्कुलै गलत छ। दुई कम्युनिष्ट पार्टीको चुनावी घोषणापत्रमा ५ वर्षमा निजगढ विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख भए पनि बजेटमा त्यसलाई उल्लेख नगरिएको जनाउँदै कांग्रेसले फास्ट ट्रयाकमा पनि असरको संकेत जनाएको छ । उच्च गतिमा वृद्धि हुँदै गएको बजार मूल्यप्रति प्रधानमन्त्रीबाट हलुका टिप्पणी गरिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसले भनेको छ, ‘सर्वहाराको नाममा सरकारमा पुग्ने तर सर्वसाधरणको जीवन दिनानुदिन कष्टकर बन्दै गएको तथ्यप्रति आँखा चिम्लने प्रवृत्तिप्रति हाम्रो गम्भीर विमति छ। यसैबीच कांग्रेस संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेटले स्पष्ट प्राथमिकता सहित योजनाबद्ध रूपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने कार्यक्रम ल्याउन नसकेको ठहर गरेको छ । संसदीय दलको कार्यलय सिंहदबारमा बसेको बैठकले बजेटले थुप्रै विकृति ल्याएको ठहर गर्दै संसद्मा शसक्तरूपमा उठाउने निष्कर्ष निकालेको छ । प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्तको संज्ञा दिंदै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रको लगानी हतोत्साही गर्ने उद्देश्य बजेटले राखेको छ । रोजगारी, कृषि र पर्यटन क्षेत्रमा बजेटमा उल्लेखित लक्ष्य प्राप्त गर्न आवश्यक ठोस योजना र कार्यक्रम छैनन्। केन्द्र, प्रदेश र स्थानीय तहको बजेटलाई ध्यानमा राख्ने हो भने राजश्वको लक्ष्य निकै महत्वकांक्षी रहेको ठहर गर्दै कांग्रेसले भनेको छ, ‘नेपाली जनतालाई कर र ऋणको बोझ बोकाउने यो बजेटले सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको स्पष्ट छ । कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७५-७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताए । बुधबार राजधानीमा आयोजीति कार्यक्रममा बोल्दै महतले आश्वासन र उद्देश्य राम्रो भएको तर कार्यान्वयनका आधार नै नभएको जिकिर गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार