गाउँको सौन्दर्यतामा निखार………

२०  जेठ २०७५,     दोलखा– हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ।वारीबाटै रङ्गीन जस्ताले सुन्दर देखिने यो बस्तीमै टेकेपछि भने अझ फरकानुभुती हुन्छ। एउटै छानो, गाउँकै माटो र सिप प्रयोग गरेर निकालिएको ईट्टाका उस्तै गाह्रो, एकै प्रकृतिका झ्याल ढोका, भुगोलको बनावट अनुसार लहरै मिलेर बनेको समान डिजाईन्का घर, प्राय घर अगाडि फराकिलो आंगन। घरहरु जति बनेका छन प्राय सबै सडकका दायाँ बायाँ र छेउमै छन्। चिटिक्कका घरहरुले सजाईएको यो बस्ती बाहिरबाट मात्र सुन्दर छैन्। घरभित्र पसेपछि शहर बजारका आधुनिक डिजाईनको झल्को आउँछ। घरभित्रै व्यवस्थित शौचालय र बाथरुम, भान्सा कोठा, अनि उज्यालो खालका तीन वटा कोठा छन्। परिवार संख्या धेरै भएकालाई ४ ओटा कोठा तयार पारिएका छन्। ‘निर्माण शुरु गर्दा यो बस्ती यस्तो बन्ला भनेर सोचेकै थिएनौं’, गाउँका अगुवा तेन्जिङ शेर्पाले भने – ‘अहिले सम्पन्न भईसकेपछि बस्तीको स्वरुप देखेर गाउँले आफैं दंग छौं।  लामोसाँघु–जिरी सडक खण्डमा अवस्थित दोलखाको मैनापोखरी बजारबाट ४ किलोमिटर यात्रा गरेपछि पुगिन्छ वैत्येश्वर गाउँपालिका ३ स्थित मिर्गेको यार्सा गाउँ। गह्रा–गह्रा परेको भुगोलमा रहेको गाउँको तीन वटै बस्ती छुनेगरी बीच भागबाट सडकले जोडिएको छ। गाउँभरी रहेका ४ सय ५० जनसंख्या मध्ये ८० प्रतिशत शेर्पा, १८ प्रतिशत क्षेत्री र बाँकी ब्राम्हण, तामाङ र नेवार समुदाय छन्। भुइँचालोमा १ सय १३ भत्किए। स्थानीय तहको पुनर्संरचना हुनुअघि यार्सा गाउँ मिर्गे गाविसको वडा नम्बर ९ मा पथ्र्यो। पुनर्संरचना पछि सिंगै मिर्गे वैत्येश्वरको ३ नम्बर वडामा प-यो। मिर्गेको पनि माथिल्लो लेकाली भेगमा रहेकाले यार्सा आफैंमा आर्थिक तथा सामाजिक रुपले पछाडि थियो। गाउँबासीको प्राय पेशा वैदेशिक रोजगारी र किसानी थियो। सगरमाथाको प्रवेशद्वारका रुपमा प्रख्यात सुन्दर पर्यटकीय नगरी जिरीमा सडक पुग्नुअघि बेस क्याम्प जाने विदेशी पर्यटकहरु हिडेर यार्सा हुँदै जाने कारण गाउँका केही युवा टे«किङमा पनि काम गर्थे। २०७२ वैशाख १२ र २९ को भूकम्पले गाउँ नै गर्लाम गुर्लम ढालिदियो। अन्यत्र जस्तै यार्साका नागरिक पनि घरबार बिहिन भएर त्रिपाल मुनी ओत लाग्न आइपुगे। आर्थिक तथा सामाजिक रुपमा पछाडी परेको यार्साको व्यवस्थित पुनर्निर्माण यति छिटो र छरितो ढंगले सम्पन्न हुनुमा गाउँमा जन्मिएका एक पत्रकार र अमेरिकी नागरिक जोडिन्छन्। भूकम्प पछिको खोज उद्धार तथा राहतको काम सकिएपछि पुर्ननिर्माण चरण शुरु हुनै लाग्दा दोलखाका अन्य बस्तीहरुमा विदेशी एनजिओ, आइएनजिओ खटिएका थिए। पिछडिएको गाउँ उठाउन समस्या परेको भनेर गाउँमा जन्मिएका दोलखाका पत्रकार लक्ष्मण खड्काले आफ्ना सञ्चारमाध्यममा यार्साको समाचार प्रकाशित गरेपछि जापानमा बस्ने नेपाली विनोद तामाङ उनको सम्पर्कमा आए। त्यही बेलामा दोलखामा चिसोका कारण भूकम्प पीडितहरु कठ्याङग्रीएको समाचार समेत सञ्चारमाध्यममा प्रकाशित भइरहन्थे। तामाङले जापानमा समाजसेवी संस्था समेत सञ्चालन गर्ने ठूला व्यवसायीसंग भुइँचालोमा बाँचेका भूकम्प पीडित घर नभएका कारण चिसोले कठ्याङग्रीएकाले घर बनाउने सहयोगका लागि प्रस्ताव गरे। ती व्यवसायीले अमेरिकामा सामाजिक संस्था चलाउदै आएका व्यवसायी डाक्टर गेरी योङलाई नेपालको दोलखाका भूकम्प पीडितको सहयोगका लागि प्रस्ताव पठाए। गेरीको योङ लिभिङ फाउण्डेसन नामक संस्था थियो। प्रस्तावपछि सकरात्मक भएका उनी तुरुन्तै नेपाल आए। यार्साका भूकम्प पीडितहरुलाई न्यानो कपडा र सिरक बाँडेर राजधानी फर्किए। भूकम्प पीडितको अवस्था देखेर भावुक बनेका गेरीले पत्रकार खड्कासहित केही गाउँलेलाई राजधानी बोलाएर गाउँको पुनर्निर्माण गर्ने प्रस्ताव अघि सारे। पुनर्निर्माणका लागि सरकारी प्रक्रिया शुरु भयो। यार्सा पुनर्निर्माणका लागि ९ करोड रुपैंया लगानी गर्ने सम्झौता पुनर्निर्माण प्राधिकरण र फाउण्डेसनबीच भयो। फाउण्डेसनले सिधै खर्च नगर्ने कारण स्थानीय एक साझेदार संस्था माग ग-यो। सहिद परिवार समाज दोलखालाई स्थानीय साझेदार बनाइयो। समाजमा दोलखाका प्रदेश सभा सांसद विशाल खड्का अध्यक्ष र पत्रकार खड्का सचिव थिए। खड्काका अनुसार २०७३ जेठबाट गाउँमा धमाधम पुनर्निर्माण शुरु गरियो। गेरी आफ्ना सहयोगी सहित टेन्ट बनाएर गाउँमा बसे। फाउण्डेसनले आफ्रिकाबाट अत्याधुनिक मेसिन आयात गरेर इन्टर लक सिस्टमको हाइड्रा फार्म ब्लक उत्पादन शुरु गरियो। गाउँकै माटो प्रयोग गरेर ब्लक (ईट्टा) उत्पादन गरिएको थियो। फाउण्डेसनले घर बनाइदिने तर सेफ्टी ट्याङकीको वाल, छानाको काठ र झ्याल ढोका गाउँले आफैले बनाउनुपर्ने प्रस्ताव ग-यो। स्थानीय सामुदायिक वनले निःशुल्क काठ उपलब्ध गरायो। घर बनाउनका लागि फाउण्डेसनबाट ३ सय बढी स्वयंसेवक अमेरिकाबाट यार्सा आएर खटिए। स्थानीय गाउँलेलाई निर्माण अवधिभर श्रमका लागि गाउँ बाहिर जान रोक लगाइयो। श्रमदानमा खटिने गाउँलेलाई प्रति व्यक्ती दैनिक ५ सय रुपैंया दिइन्थ्यो। दुई बर्ष लगाएर गाउँले र फाउण्डेशनका स्वयं सेवकले यार्सामा ९९ ओटा घर र एउटा बिद्यालय भवनको निर्माण सम्पन्न गरे। शहिद परिवार समाजका सचिव रहेका पत्रकार खड्काका अनुसार भुइँचालोमा लडेका १ सय १३ घर मध्ये ८ घर बसाई सरेर अन्यत्र गए भने रोजगारीको सिलसिलामा राजधानी र देशका अन्य स्थानमा रहेका अन्य ५ जनाले घर बनाउन इच्छै देखाएनन्। सबै घरहरु बनिसकेपछि एकै खालका रङ लगाउने इच्छा गाउँलेको छ। उनीहरु गाउँबाट खावा हुँदै जिरी जोड्ने सडकलाई स्तरोन्नती गरेर यार्सामा होम स्टे चलाउन चाहन्छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार