दूधमा नुन तथा युरियाको मिसावट……….

जेष्ठ ३०, २०७५, काठमाडौँ — उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । काठमाडौं उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कारबोनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने । दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि कृषिमन्त्री खनालले सोमबार राजधानीका ४ वटा डेरीमा छापा मारेका थिए । त्यसअघि नै उनले २५ वटा डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउच संकलन गरेका थिए । मन्त्री खनालले दूध उत्पादनमा उपभोक्ता स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु । अब त्यसै छाडिँदैन । उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनको भनाइ छ । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने । राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशालाका प्राविधिकका अनुसार, दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीमा संकलक र ठेकदारहरूले दूधको अम्लीयपना घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन् । ‘सहकारीका व्यवस्थापकले टाढा–टाढाबाट दूध संकलन गर्छन् । एकैपटक ढुवानी गर्न नसकिने भएकाले दूध फाट्नबाट जोगाउन कास्टिक सोडाका रूपमा रासायनिक तत्त्व मिसाउने गरेको पाइन्छ,’ नाम नखुलाउन चाहने ती प्राविधिकले भने । उनका अनुसार, काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरियाको पनि मिसावट भएको देखिन्छ । पशुले खाने दानामार्फत युरिया दूधमा देखिने गरेको छ । रसायनबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिने गरेको उनले बताए । खाद्य प्रविधि विभागको फुड स्ट्यान्डर्ड निर्देशिकाले दूधमा पानी पनि मिसाउन रोक लगाएको छ । ‘दूधमा दुग्ध पदार्थ, दूध पाउडरबाहेक कुनै पनि रसायन चिनी, नुन, पानी मिसाउन पनि पाइँदैन । यो ऐनविपरीत मानिन्छ,’ एक प्राविधिकले भने । तर, विभागले गर्ने नियमन भने अत्यधिक फितलो छ । सबैतिर यसको पहुँच देखिँदैन । नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया उपभोक्ताले खाने दूधको गुणस्तर सुधारका लागि चेतनामूलक कार्यक्रम गरिनुपर्ने बताउँछन् । ‘किसानदेखि उपभोक्तासम्मको पूरै सप्लाई चेनमै सुधार आवश्यक देखिन्छ,’ केडियाले भने । उनका अनुसार, गाउँबाटै कास्टिक सोडा मिसाएर आएको दूधलाई प्रशोधन उद्योगमा सुधार्न सकिन्न । ‘किसान तहमै दूधमा अम्लीयपना नबढोस् भनेर सोडा प्रयोग गरिन्छ । त्यो उद्योगभित्र आउँदा नियन्त्रण गर्न सकिँदैन । यो अत्यधिक हानिकारक वस्तु हो भनेर चिस्यान केन्द्र तहमै चेतना हुनुपर्छ । उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिएमा १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ । तर, खाद्य प्रविधि विभागले अखाद्य वस्तु फेला परेमा खाद्य ऐनअनुसार डेरी उद्योगीलाई १० हजार रुपैयाँसम्म जरिवाना तिराउने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार