पार्वतीको शव उत्खनन्……….

 ३१ जेठ २०७५,   अछाम– अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ। छाउपडी गोठमा सर्पले टोकेर मृत्यु घटना भएको ४ दिनपछि मंगलबार अछाम प्रहरी घटनास्थलमा पुगेको थियो। गाउँले तथा जनप्रतिनिधिहरुको मिलोमतोमा यो विषय बाहिर ल्याउँदा गाउँको बेइज्जत हुने भन्दै पार्वतीको शवलाई पोष्टमार्टम नगरेरै गाडेपछि प्रहरीले बुधवार दिउँसो पोष्टमार्टमको लागि उत्खन्न गरेको हो। छाउगोठमा सुतिरहेका बेला जेठ २६ गते शनिबार राती सर्पको डसाईबाट १८ वर्षिया पार्वतीको मृत्यु भएको थियो। घटना शनिबार राती नै भएपनि प्रहरी भने मंगलबार मात्रै घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुगेर जाचँबुझ गरेर गोठ भत्काइएको ठाउँ तथा वरपरको वस्तुस्थितीको फोटो र मुचुल्का तयार गरि प्रहरी मंगलबार नै घटना स्थलबाट फर्केको थियो। यो विषयले नागरिक दैनिक लगायत विभिन्न सञ्चारमाध्यममा उच्च प्राथमिकता पाएपछि प्रहरीले शवलाई उत्खनन् गरेको हो। पोष्टमार्टम नै नगरेर शवलाई स्थानीयले गाडेकाले पोष्टमार्टमका लागि उत्खनन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनसिंह साउदले जानकारी दिए। शव उत्खनन गरी प्रहरीले पोष्टर्माटमको लागि जिल्ला अस्पताल पुर्याएको छ। मानिस तथा जंगली जनावरको डरले ढोका बाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्ने गर्नाले अधिकांशको निसासिएर ज्यान जाने गरेको छ। सर्पले टोकेर छाउगोठमा ज्यान गएको पहिलो घटना भएपनि सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारी समेत नराखेका कारण बर्षेनी महिलाले गोठमा ज्यान गुमाइरहेका छन्। जिल्लाले ५ बर्षीय छाउपडी प्रथा निवारण रणनीति योजना निर्माण गरेपनि कागजमै सीमित छ। महिला तथा बालबालिका कार्यालयले तीन बर्ष पहिले साविकको तुर्माखाँद गाविसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गरेको थियो। तर, सोही गाउँमा शनिबार राति महिनावारी बार्न छाउ गोठमा सुतेकी पार्वती बुढाले सर्पको टोकाईबाट ज्यान गुमाउनु पर्यो। ६ महिना पहिले मात्र पुस २३ गते पार्वतीकै मावली गाउँ भैरवस्थानकी २२ वर्षका गौरी बुढाको ज्यान पनि गोठमै गयो। छाउपडी गोठ मुक्त घोषणा भएको तुर्माखाँदमा पार्वतीले जस्तै गोठ मुक्त नै घोषणा भएको गाज्रामा पनि ०७३ पुस ३ गते १५ वर्षकी रोशनी तिरुवाको गोठमै ज्यान गएको थियो। गोठमुक्त घोषणाको अभियान प्रभावहिन बनेको कुरा त यिनै घट्नाहरुबाट पुष्टि हुन्छ भने गोठमै भएका घट्नालाई पनि गाउँका अगुवाहरु प्राय लुकाउनै खोजिरहेका छन्। छाउपडी कुप्रथा बार्ने प्रचलनकै कारणले कति किशोरी तथा आमाहरुले ज्यान गुमाए त्यसको एकीन तथ्यांक कसैसँग छैन्। छाउपडी कुप्रथाको बढी प्रभाव देखिने अछाममा हालसम्म भएको अध्ययन अनुसार पछिल्लो डेढ दशकको अवधिमा मात्र पार्वती लगायत १३ किशोरी तथा महिलाले गोठमा सुतेको बेला बिभिन्न कारणले ज्यान गुमाएका छन्। केहीको निसासिएर ज्यान गएको छ भने अरुको मृत्युको कारण खुलेको छैन्। समाजमा पुर्खाहरुले बार्दै आएको छाउपडी कुप्रथाको सिकार कलिलो पुस्ता नचाहेर पनि बन्न बाध्य छन्। बिभिन्न संघ सस्था तथा सरकारी निकायले गोठ मुक्त अभियान संचालन गरेपछि छाउपडी गोठ छोडेर घर बस्न थालेका केहि महिला पुनः गोठमै फर्किन थालेका छन्।

अछाममा छाउगोठमा मृत्यु भएका किशोरी तथा महिलाहरुको विवरण :

१.पार्वती बुढा—तुर्माखाद २०७५ जेठ २६

२.गौरी बुढा—तुर्माखाद २०७४ पुष २४

३.रोशनी तिरुवा—गाज्रा २०७३ असार

४.डम्मरा उपाध्याय—तिमिल्सेन ७ २०७३ मसिर ४

५.शर्मिला भुल—रिडिकोट ३ २०६९ पुष ४

६.लक्ष्मी बुढा—ढकारी ४ २०६८ माघ १९

७.झुमादेबी शाही—बारल १ २०६८ माघ १

८.डिक्रादेबी ढकाल—बिरपथ २०६७

९.रतन देबी बिक—पायल ५ २०६३ माघ

१०.झुप्री ढोली—पायल २ २०६७ फागुन

११.पार्बती दमाई—पायल

१२.हंसा जैसी—नाडा

१३.हंसदेबी जोशी—रानीबन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार