जथाभावी नबोल……….

०३ असार २०७५,   काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका विषयमा जथाभावी अभिव्यक्ति नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार बजेट तय गरेको दाबी गरेका हुन्। अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाएर दायित्व छाडेर गएकाले अहिलेको बजेटमा समस्या देखिएको सुनाउँदै ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मुल्य र मान्यतामा कायम रहदै सरकारले ल्याएको बजेटको बचाउमा जुट्न आग्रह गरे। ‘भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रा मात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुन्छ,’ ओलीले सांसदहरूलाई सम्बोधन गर्दै भने, ‘सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुन्छ।’ बजेटले समेट्नु पर्ने कुनै नीति तथा कार्यक्रम छुटेको भए त्यसलाई सच्याएर समावेश गर्न सकिने ओलीले बताए। बजेट विनियोजनमा विभागिय मन्त्री र ठुला नेता हावी भएको भन्दै संघिय संसदमा सरकार र सम्बन्धीत मन्त्रीको आलोचनामा उत्रिएका सांसदहरुले दलको बैठकमा पनि त्यसबारे कुरा उठाएका छन्। यसैबीच साँझ बसेको पहिलो स्थायी समिति बैठकले पार्टी एकता अदितिय र असाधारण भएको निष्कर्ष निकाल्दै एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिमरूप दिने निस्कर्ष निकालेको छ। सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै बैठकले अझ राम्रो गर्न आत्मसमीक्षा गर्दै अघि बढ्ने पनि निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार