जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

असार ३, २०७५  मस्को । विश्वकप फुटबलको चौँथो दिन आइतबार ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् । यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । र, पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन । उता, साबिक विजेता जर्मनीले विश्वकप १९ पटक खेलेको छ । यो प्रतियोगिता उसको लागि लगातार सत्रौँ प्रतियोगिता हुनेछ ।

ब्राजिल ४८ वर्षदेखि समूह चरणको खेलमा अपराजित

ब्राजिल र स्वीटजरल्याण्ड यसअघि विश्वकपमा मात्र एक पटक भिडेका छन् । सन् १९५० मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो । ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ । ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ । उता, स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो । विश्वकपमा स्वीटजरल्याण्डले ३३ खेलमा ११ मात्र जीत हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ ।

कोस्टारिका ४ मध्ये ३ शुरुवाती खेलमा विजयी

कोस्टारिक र सर्बिया यसअघि एकपटक पनि विश्वकपमा आमने सामने भएका छैनन् । कोस्टारिका पाँचौ पटक विश्वकपमा खेल्दैछ । यो टोली सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो । त्यस्तै, उसले हालसम्म विश्वकपको चार मध्ये तीनवटा शुरुवाती खेलमा जीत हासिल गर्न सफल भएको छ । सन् २००६ मा ऊ जर्मनीसँग ४–२ गोलअन्तरले पराजित भएको थियो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले ट्रिनिडाड एण्ड टोबागो र अमेरिकालाई हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

यता, जर्मनी र मेक्सिको विश्वकपमा चौथो पटक भिड्दैछन् । तर, पछिल्लो तीन भिडन्तमा जर्मनी अपराजित रहेको छ । हालसम्म दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका छन् जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार