वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको निधन……….

असार ५, २०७५   वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उनी सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए । छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश फर्किएका थिए । बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मनुभएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार