नेपाल चीनबीच रेलमार्ग लगायत १४ विषयमा सम्झौता

  बगैचा सम्वाददाता

काठमाडौँ

नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजना निर्माण लगायत १४ विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  वि.सं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षीलाई भेटेकै दिन १४ बुँदे संयुक्त वक्तव्य समेत जारी गरिसकेका छन् । वक्तव्यमा चीनले ओली सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पुरा गर्दै नेपालमा स्थिरता, सामाजिक सद्भाव र आर्थिक समृद्धि हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेको छ । साथै नेपालले लिएको विकासको लक्ष्य पुरा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चीनबाट चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरेका हुन् । यसैगरी उनीहरुबीच नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यस्तै, सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने बारेमा समेत सम्झौता भएको छ । ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूबीच हस्ताक्षर भयो । नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीचसंयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ । ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको छ । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र चीनको उक्त निकायका प्रशासक नुर बाइकेलीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र चीन सरकारबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलग अलग सम्झौता पनि भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव खनाल र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष झाओ लिझाउबीच हस्ताक्षर भएको छ । त्यस्तै नुवाकोट दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदानसम्बन्धमा पत्र आदानप्रदान भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार