दैनिक हिड्नु पर्ने ज्यानमारा भीर

असार ११ २०७५  म्याग्दी — एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरण गरी नाउरा भीर फोड्न श्रम शिविरमा राखे । र, धौलागिरि पदयात्रामा आएका पर्यटकबाट लाखौं चन्दा असुले । ०६२/०६३ को जनआन्दोलनपछि साविक जिविसले केही विस्फोटन गरी डोरो निकालेपछि डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य भएको हो । तर, अझै गोरेटो साँघुरो र डिलमा बार नहुँदा जोखिम उस्तै छ । स्थानीय, स्वदेशी र विदेशी गरी धेरै पदयात्रीले ज्यान गुमाए नाउरा भीरमा । ज्यानमारा नाउरा भीरमा धेरै राजनीति गरिएको र बजेट खर्च भएको छ । धौलागिरि गाउँपालिका-४ मुदीको मुख्य बस्ती मुदीसमेत नेरवाङ, खिवाङ, बगरा सबै बस्तीमा पुग्न भीरको बाटो हिँड्नै पर्छ । मुदीवासीको यो अनिवार्य बाध्यता । म्याग्दी खोलाको सिरान र धौलागिरि हिमालको फेदीमा पर्ने नाउरा भीरको बाटो भएर धौलागिरि आरोहण गर्न र फन्को लगाउन विदेशी पर्यटक आउने गरेका छन् । दैलोबाट खेतमा पुग्न पनि भीर उक्लनु पर्छ । हामी दु:खी छौं । धेरै हाम्रा आफन्त यिनै भीरबाट लडेर मृत्यु भए, हामी पालो पर्खेका छौं’ धौलागिरि गापा-४ मुदी बगरा घर भई धौलागिरि आधार शिविरमा होटल सञ्चालन गर्ने हरिबहादुर तिलिजाले भने, ‘नाउरा भीरको कथा भनेर धेरै नेता माथि पुगे तर हाम्रो कथा-व्यथा उस्तै छ ।’ नाउरा भीरपछि सबैभन्दा बढी अप्ठ्यारो र राजनीति भएको बाटो हो, दग्नाम–दर्मिजाको अजिङ्गर भीर । रघुगंगा गाउँपालिका-४ मा पर्ने अजिङ्गर भीरको नाम नै डरलाग्दो बाटो झन् डरलाग्दो । दुई दर्जन बढी यात्रुको मृत्यु भइसकेको ज्यानमारा अजिङ्गर भीरमा पनि अहिलेसम्म अर्ब बढी रकम खर्च भइसकेको छ । तर, अवस्था उस्तै छ । दर्मिजा, चिम्खोला, मंगले, ध्याँसीखर्कवासी हिँड्ने एक मात्र बाध्यता हो । अजिङ्गर भीर देखाएर पञ्चायतकालदेखि नै गोरेटो, घोडेटोको सपना पूरा नहुँदै हिजोआज नेताहरु मोटर बाटोको सपना बनाउँदै भोट माग्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार