हङकङबासीको आफ्नै कथा हो “बाउण्डलेस लभ”

  टोपबहादुर याक्खा

“तिमीलाई हङकङ पुर्यायो आई.डी. कार्डैले, मलाई एक्लो बनायो तिम्रो आई.डी.ले…” एकताका खुबै चर्चित सत्यकला राईको यो गीत नगुनगुनाउँने सायदै होलान । हुन पनि हङकङ आई.डी.ले सबै परिवारहरुलाई जोड्ने काम मात्रै नगरेर कतिलाई बिछोड बनाएको घटनाहरु पनि नभएका होइनन् ।
हङकङ आई.डी.को कारणले गर्दा घर परिवारका सदस्य र प्रेमी प्रेमिकाहरु नेपाल र हङकङमा रहँदा एकले अर्कालाई बिर्सदै जानु, मन मुटाब हुनु र बिछोड हुनु त स्वाभाविकै हो तर हङकङमै बस्ने परिवारका सदस्यहरु समेत कामको व्यस्तता, सिफ्ट ड्यूटी, काम अनुसार पाइने आकर्षक तलबले गर्दा परिवारका सदस्यहरुमा बढ्दै जाने अहमता, स्वतन्त्रता, विशेष गरी स्थानिय चाइनिज भाषाको कारण नेपाली विद्यार्थीहरुले भने जस्तो नतिजा ल्याउँन नसक्दा बीचैमा पढाई छाड्ने प्रचलन, नेपालबाट हङकङ आए झै ब्रिटिशले गोर्खा र तिनका परिवारहरुलाई दिएको सुविधालाई पछ्याउँदै हङकङबाट यू.के. बसाई सराईले पार्न सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरहरुको कथा हो “बाउण्डलेस लभ” ।

बाहिरबाट हेर्दा जति सुन्दर छ हङकङ, हङकङ भित्र रहेर जिउँनु उत्तिनै कठिन छ । दिन र रातमा खासै फरक नहुने यहाँ दिन र रातमा चल्ने सिफ्ट ड्यूटीका कारण एउटै कोठामा बस्ने सुत्ने पति पत्नि समेत महिनौ दिन सम्म देख भेट नहुदाँ कुनै आश्चार्य नमाने हुन्छ यहाँ । पश्चिमा संस्कृतीको प्रत्यक्ष असर रहेको यहाँ विवाहित हुन या त अविवाहित, महिला पुरुष दुवैले ग्रलफ्रेण्ड ब्वाइफ्रेण्ड बनाउँने चलन पनि खासै नौलो होइन । यी यस्तै कारणहरुले गर्दा बाउण्डलेस लभका मुख्य पात्र ब्राइन (मनिस लिम्बु) का बाबा आमा उ सानै छँदा छुट्छन र उ एकल बाबाको साथमा हुर्कन विवश हुन्छन् ।
विश्वकै महङ्गो शहर हङकङमा सेक्युरीटी गार्डमा कार्यरत उनको बाबाले चाहेर पनि ब्राइनलाई राम्रो शिक्षा दिन सक्दैनन् । पार्ट टाइम जबसंगै आफ्नो पढाईलाई अगाडी बढाईरहेका ब्राइनले जति माथिल्लो तह उक्लिदै गयो उति नतिजा बिग्रदै गए पश्चात पढाईलाई बीचैमा छाडेर फुल टाइम जब गर्ने सोचमा पुग्छन्, जो हङकङबासी ९५ प्रतिशत नेपाली युवाहरु भोग्दै आएको पीडा हो ।
पहिलो पल्ट बस स्टेशनमा देखिएकी इभा (शुष्मा लिम्बु) लाई ब्राइनले पारिवारीक भोजमा दिदी मार्फत परिचित हुने अवशर पाउँछन् । एउटै उमेरका इभा र ब्राइन जब फोन, फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत बोलचाल संगै बिस्तारै नजिकिने क्रममा हुन्छन् । तर अफसोच इभालाई उसको बाबाले थप शिक्षाको लागि यू.के. लैजान्छन् । सानो छदै बाबा आमाको डिभोर्स भएर जन्म दिने आफ्नी आमाको माया पाउँन नसकेका ब्राइन आफुले मन पराएकी इभा पनि यू.के. बसाई सर्ने भए पछि आफूलाई संसारकै एक्लो र दुःखी ठान्छन् ।
मनिश लिम्बु र शुष्मा लिम्बुको मुख्य भूमिका रहेको “बाउण्डलेस लभ” मा सुबास थापा, लक्ष्मि गुरुङ, मौषम लिम्बु, भुमिका सुब्बा लगायतका स्थानिय कलाकारहरुको समेत सशक्त अभिनय देख्न सकिन्छ । युवा निर्देशक यु.बी. चाम्स मगरको कथा तथा निर्देशन रहेको उक्त लघु चलचित्रलाई निर्माता ज्याप फिल्मस हङकङका प्रोपाइटर तथा भिडियोग्राफर विक्रम गुरुङले छायाङ्कन गरेका हुन् । चलचित्रमा हङकङबासी गायकद्धय एल.बी. मुखिया र डिल्ली राईको दुई वटा गीत समेत समावेश छन् ।
“नेपाली कला, संस्कृति र चलचित्रको राम्रो बजार रहेको हङकङमा नेपालबाट हङकङ आएका र हङकङमै जन्मि हुर्कीएका दोस्रो पुस्तालाई जोडेर हङकङका वास्तविक भोगाईहरुलाई दर्शकहरु समक्ष ल्याउँने प्रयास गरेका छौं ।  “बाउण्डलेस लभ” को कथा, निर्देशन, छायाँङ्कन, पात्र, गीत संगीत सबै विशुद्ध हङकङकै हो । यसर्थ पनि “बाउण्डलेस लभ” पूर्णतः हङकङको उत्पादन हो, हाम्रो पहिलो प्रयासलाई दर्शक श्रोताहरुले मन पराईदिएको खण्डमा भोली हामी ठूलो पर्दाका चलचित्रहरु समेत निर्माण गर्न अग्रशर हुने छौ” “बाउण्डलेस लभ” का निर्माता विक्रम गुरुङले फोनवार्ताका क्रममा बताए ।

गत १८ जुनमा जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा प्रदर्शन गरेसंगै युट्युव मार्फत समेत सार्वजनिक गरिएको “बाउण्डलेस लभ” ले हङकङका साथसाथै विश्वभर रहेका नेपाली चलचित्र प्रेमी दर्शकहरुबाट कस्तो प्रतिक्रिया पाउँने हो त्यो त भविश्यले नै बताउँनेछ ।

Photo By Zap Studio HK

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार