उपकुलपतिलाई विदेश जान रोक…………..

२४ असार २०७५,   काठमाडौं – सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोक लगाएको छ। क्यानडा हिँडेका उपकुलपति कोइरालालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ नियन्त्रणमा लिएको हो। कोइराला नेतृत्वमा सात सदस्यीय नेपाली टोली क्यानाडाको भ्यानकुभरमा आयोजना हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन जान विमानस्थल पुगेको थियो। साँझ ८ बजेको उडानका लागि विमानस्थल प्रवेश गरी सामान जँचाउँदै गर्दा उपकुलपति कोइरालालाई डिआइजी कमलबहादुर जिटीले नियन्त्रणमा लिएर सीधै बालुवाटार पु-याएका थिए । ‘म समान जाँचबुझ गराउँदै थिएँ। सादा पोसाकमा रहेका डिआइजी कमलबहादुर जिटीले तपार्इंलाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै गाडीमा राखेर सीधै बालुवाटार पु-याए,’ उपकुलपति कोइरालाले नागरिकसँग भने, ‘मलाई प्रधानमन्त्री निवासको निजी सचिवालयमा एक घन्टासम्म राखियो। तर त्यहाँ प्रधानमन्त्रीसँग भेट गर्न दिइएन।’ आफूले विश्वविद्यालयको ऐनअनुसार बिदा स्वीकृतिका लागि सहकुलपति एवं शिक्षामन्त्रीमार्फत निवेदन दिए पनि विदेश जान रोक लगाइएकोमा उपकुलपति कोइरालाले आपत्ति जनाए। उनले भने, ‘बिदा स्वीकृत भएको वा अस्वीकृत भएको कुनै जानकारी नदिई अन्तिम समयमा मलाई किन एयरपोर्टबाट फर्काइयो?’ संस्कृत विषयको प्रवद्र्धन कार्यक्रममा जान रोक लगाएर सरकारले संस्कृत भाषालाई सिध्याउन खोजेको कोइरालाको आरोप छ। संस्कृत विश्वविद्यालय ऐनमा उपकुलपतिले देश छाड्नुपरेमा एक साताअघि कुलपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आफूले ११ दिनअघि बिदा स्वीकृतिका लागि निवदेन दिएको कोइरालाले बताए। ‘१७ औं विश्व संस्कृत सम्मेलनमा सात सदस्यीय टोली जान विश्वविद्यालय कार्यकारी परिषद्ले स्वीकृत गरिसकेको छ,’ उपकुलपति कोइरालाले भने, ‘शिक्षा मन्त्रालयले नै १० लाख रुपैयाँ बजेटसमेत स्वीकृत गरेको पत्र दिएको छ।’ शिक्षामन्त्रीका स्वकीय सचिव पूरण केसीले उपकुलपति कोइरालाले बिदाको निवेदन शुक्रबारमात्र मन्त्रालयको कर्मचारीको टेबुलमा छाडेर गएको जानकारी दिँदै भ्रमण खर्च पनि पारित नभएको बताए। उनले उपकुलपति कोइराला प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग कुनै छलफल नगरी क्यानडा जान लागेकाले फिर्ता गरिएको बताए। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले केही कुरा बुझ्न उपकुलपति कोइरालालाई फिर्ता बोलाइएको बताए। टोलीका अन्य ६ सदस्य नेसंवि अनुसन्धान केन्द्रका निर्देशक काशीनाथ न्यौपाने, सहप्राध्यापक नवराज कट्टेल, वाल्मीकि विद्यापीठका प्रमुख गणेश घिमिरे, सहप्रध्यापक लेखप्रसाद निरौला, उपप्रध्यापक प्रेमराज न्यौपाने र उपप्रध्यापक केशव कोइराला भने क्यानडा गएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार