पुनर्निर्माणलाई ५९ अर्ब अपुग………..

२४ असार २०७५,   काठमाडौं – २०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि कुल १ सय ३० अर्ब बजेट आवश्यक भए पनि स्रोत पहिचान भएको ७१ अर्ब रकममात्र छ। भूकम्पका कारण भत्किएका विद्यालय पुनर्निर्माणको प्रगति र अबका योजनाबारे शुक्रबार आयोजित अन्तक्र्रियामा केन्द्रीय आयोजना एकाइ निर्देशक इमानारायण श्रेष्ठले क्षति भएका विद्यालयको पुनर्निर्माण विद्यालय व्यवस्थापन समिति, आयोजना र गैरसरकारी संस्था गरी तीन मोडलबाट भइरहेको बताए। एकाइले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिबाट २ हजार ६ सय ८०, आयोजनाबाट २२ र गैरसरकारी संस्थाको सहयोगबाट १ हजार ८४ गरी कुल ३ हजार ७ सय ८६ विद्यालयको पुनर्निर्माण भएको छ। ‘विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराइएको रकमबाट धेरै संख्यामा र तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ,’ श्रेष्ठले भने, ‘हामीलाई विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण कार्य अघि बढाउन अब २४ अर्ब रकम भए पुग्छ ।’ उनले क्षति भएका विद्यालयमध्ये ४ सय ५० विद्यालयको आफ्नो जग्गा नभएका कारण पुनर्निर्माण सम्भव देखिँदैन।’ हालसम्म विद्यालय व्यवस्थापन समितिबाट २ हजार ६ सय ८०, आयोजनाबाट २२ र गैरसरकारी संस्थाको सहयोगबाट १ हजार ८४ गरी कुल ३ हजार ७ सय ८६ विद्यालयको पुनर्निर्माण भएको छ। कार्यक्रमका सहभागीले भूकम्पबाट क्षति भएर विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण भएका विद्यालयका शिक्षकले पुनर्निर्माण अघि र पछिको शैक्षिक अवस्थाबारे अनुभव साटेका थिए। त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रिन्सिपल हेरम्बराज कँडेलले भूकम्पका कारण विद्यालयको २६ कोठे भवन भत्किँदा विद्यार्थीको पठनपाठन र अन्य शैक्षिक क्रियाकलापमै चुनौती थपिएको सम्झँदै पुनर्निर्माणपछि विद्यार्थी संख्या ह्वात्तै बढेको सुनाए। ‘हाम्रा शिक्षक र प्रशासनको आत्मविश्वासका भरमा विद्यार्थी टहरामै अध्ययन गरे,’ कँडेलले भने, ‘अहिले विद्यालय व्यवस्थापनको सक्रियतामा स्कुलमा नयाँ भवन निर्माण हुँदैछ।’ भवन बन्न थालेपछि विद्यालयमा नयाँ विद्यार्थीको ओइरो नै लागेको छ। विद्यालयमा मावि तहसम्मका २६ सय विद्यार्थी छन् । यस वर्ष ४ सय विद्यार्थी नयाँ भर्ना भएका छन्। जसमध्ये ३ सय ७५ निजी विद्यालयबाट आएको कँडेलले बताए। ललितपुरको च्यासलमा रहेको श्रमिक राष्ट्रिय मावि पनि भूकम्पबाट क्षति भएको विद्यालय हो। सरकारको सहयोगमा विद्यालय व्यवस्थापन समितिबाट विद्यालय भवन पुनर्निर्माणपछि यहाँ पनि विद्यार्थीको संख्या बढेको छ। नयाँ भवन र पूर्वाधार व्यवस्थित भएपछि विद्यार्थी थपिँदै गएको प्रिन्सिपल सानुलाल व्यञ्जनकारले बताए। अहिले यो स्कुलमा माविसम्मका १२ सय विद्यार्थी पठनपाठन गरिरहेका छन्। कीर्तिपुरमा रहेको जनसेवा माविकी प्रिन्सिपल नन्दकुमारी महर्जनले भूकम्पबाट विद्यालय भत्किँदा कक्षाकोठामा बसेर अध्ययन गर्न विद्यार्थीमा त्रसित हुने गरेको बताउँदै पुनर्निर्माणपछि विद्यालय सुरक्षित वातावरणमा सञ्चालन गरिएको बताइन् । हाल यो स्कुलमा १४ सय विद्यार्थी अध्ययनरत छन्। ‘विद्यालयमा ७७ जिल्लाका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिएको छ,’ महर्जनले भनिन्, ‘सुरक्षित नयाँ भवनमा अध्ययन गर्न पाउँदा विद्यार्थी रमाएका छन् भने अभिभावक ढुक्क छन्। निर्देशक श्रेष्ठका अनुसार १ हजार ९ सय ६ विद्यालय निर्माणाधीन अवस्थामा छन् भने ४ सय ९४ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन्। यसैगरी १ सय ५ विद्यालयमा कुनै पनि स्रोत पुगेको छैन। यस्ता विद्यालय पुनर्निर्माणका लागि ८ अर्ब रकम आवश्यक रहेको उनले जनाए। शौचालय, पानी तथा घेराबारका लागि थप ४ अर्ब रकम चाहिन्छ । ०७५/०७६ मा निर्माण सुरु हुने विद्यालयका लागि ३ अर्ब रकम आवश्यक छ। एकाइका इन्जिनियर एवं उपनिर्देशक दिलिपशेखर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा स्कुल बनाउँदा अपनत्व बढ्ने र निकै सुरक्षित भवन बनिरहेको जनाए। व्यवस्थापन समितिमार्फत निर्माण कार्य हुँदा समितिका पदाधिकारीले निर्माण सामग्रीमा चासो लिने र ठेकेदारले समेत गुणस्तरको ख्याल गर्दा सुरक्षित भवन बनिरहेको उनको अनुभव छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार