फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास?………

२६ असार २०७५,   उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ। पहिलो पटक विश्वकप फाइनलमा सहभागी हुने र उपाधि नै जित्ने लक्ष्य टोलीकोे छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीको भिडन्त रोमाञ्चक हुने खेल विश्लेषकहरुले अनुमान गरेका छन्। ब्राजिल विरुद्धको खेलमा रक्षापंक्तिमा केहि कमजोरी देखिएको बेल्जियमको अग्रपंक्ति बलियो रहेको यसअघिका खेलमा देखिएकै हो। यता फ्रान्सको रक्षापंक्ति देखि अग्रपंक्ति दुवै सन्तुलित छ । बलिया र अनुभवी खेलाडीहरुको वाहुल्य रहेको दुवै टोलीका खेलाडीहरुसँग युरोपका शिर्ष लिगहरु खेलेका अनुभव छन्। फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिरौड जस्ता अनुभवी खेलाडी छन् भने बेल्जियमको टोलीमा केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्डजस्ता उत्कृष्ट खेलाडीको उपस्थिति छ। फ्रान्सका कान्टे र बेल्जियमका इडेन हाजार्ड दुवै इङ्लिस क्लब चेल्सीमा आवद्ध भएका कारण एक अर्का टोली विरुद्धको रणनीति बनाउन दुवैलाई सहज समेत हुनेछ । मंगलबारको खेलमा थोमस म्युनियर भने बेल्जियमकालागि उपलब्ध हुने छैनन् । दोहोरो पहेंलो कार्ड पाएका कारण उनले सेमिफाइनलको खेल गुमाउने भएका हुन । उनको स्थानमा यानिक कारास्कोलाई मैदान उतार्ने तयारी प्रशिक्षक रोवर्टो मार्टिनेजले गरेका छन्। यी दुई टोलीको भेट विश्वकपमा पछिल्लो पल्ट १९८६ मा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स ४–२ ले विजयी भएको थियो । त्यसपछि प्रमुख प्रतियोगिताहरुमा यी दुई टोलीको भेट नभएपनि हालसम्म आठ मैत्रीपुर्ण खेलमा भने एकअर्का विरुद्ध खेलिसकेका छन् । फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो भने पछिल्लो पल्ट सन् २००६ मा फाइनलसम्मको यात्रा गर्न सफल भएको थियो । बेल्जियमले ब्राजिललाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको हो । फ्रान्स र बेल्जियमबीचको खेल नेपाली समयअनुसार मंगलबार राती पौने १२ बजे सेन्ट पिटर्सवर्ग रङ्गशालामा हुनेछ। बुधवार राति हुने दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्नेछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार