दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला……….

असार २६, २०७५   काठमाडौं– गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पछिल्लो पटक २०७४ मंसिर पहिलो साता नेपाल आएका दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला गरेको छ । व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) लिएका फिलिपिन्सका नागरिक डिभेरा रिचार्ड र रिता गोङ्गालाई विभागले एक बर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाउँदै देश निकाला (डिपोर्ट) गरेको हो । डिभेरा रिचार्ड र रिता गोङ्गाले जुन प्रयोजनको लागि भिसा लिएका थिए त्यो भिसाको दुरुपयोग भएको पाइयो’ अध्यागमन विभागका डिजी दिपक काफ्लेले भने, ‘भिसा दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरुलाई हामीले डिपोर्ट गरेका हौं । एक वर्षको व्यवसायिक भिसामा नेपाल प्रवेश गरेका फिलीपिनी नागरिक डिभेरा र इन्डोनेशियाकी रिता गोङ्गाले धर्म प्रचार गरेको अध्यागमन स्रोतले जनाएको छ । डिभेरा र रिता श्रीमान–श्रीमती हुन् । पछिल्लो समय महिना उनीहरु ललितपुरको सातदोबाटो आसपासको एउटा चर्चमा बस्दै आएका थिए । उनीहरुले ललितपुर क्षेत्रमा सञ्चालित विभिन्न चर्चहरुमा प्रवचन दिएर इसाई धर्म प्रचार गरेको ‘सुरक्षा रिपोर्ट’ समेतका आधारमा गृह मन्त्रालयले अध्यागमन विभागलाई छानविन गरेर कारवाही गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि विभागले उनीहरुलाई धर्म प्रचार गरेको आरोपमा नेपालबाट फिलिपिन्स डिपोर्ट गरेको हो । ईसाइ धर्म प्रचारमा संलग्न भएको आरोपमा विदेशीलाई गृह मन्त्रालयले देश निकाला गरेको यो पहिलो घट्ना भएको अध्यागमनका अधिकारीहरु बताउँछन् । अर्धन्यायिक निकाय समेत रहेको अध्यागमनले फिलिपिनी दम्पत्तीलाई १०–१० हजार नेपाली रुपैयाँ जरिवाना समेत गरेको छ । पछिल्लो समय ललितपुरमा चर्चको संख्या बढ्दै गएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार