त्रिशुली जलविद्युत केन्द्रमा आगलागी……….

२६ असार, २०७५,  काठमाडौं । नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ ।  आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । ‘मुसा भित्र छिरेर विद्युत सर्ट भएको अनुमान गरिएको छ’ उनले भने । ३४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट हाल ३० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । आगलागीबाट आर्थिक रुपमा ठूलो क्षति भए पनि प्राविधिक मुल्यांकनपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने विद्युत आयोजनाले जनाएको छ । विद्युत केन्द्रमा लागेको आगो करिब ४५ मिनेटपछि निभाइएको थियो । ‘पहिले मेसिन बिग्रन्छ भनेर ग्यासबाट मात्र आगो निभाउने प्रयास भयो तर सफल नभपछि पछिमात्रै पानी प्रयोग गरियो, त्यसैले केही बढी समय लाग्यो’ एसपी कुँवरले भने । त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएपछि अहिले नुवाकोट जिल्लाभरको विद्युत अवरुद्ध भएको छ । अन्य जलविद्युत केन्द्रबाट विजुली ल्याएर विद्युत सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार