इलामका लागि नयाँ नाम होइन…………

३२ असार २०७५,
इलाम – उमेरले ७० को नेटो काटेझैं, चिउँडोमा चुसुक्क सेतो दारी। हसिलो मिजासमा इलाम बजारको यताउति घुमिरहेका उनले केही दिनयता चाहिँ ढाकाटोपी लगाएको देखिन्छ। अरूबेला प्रायः अगाडि लाछी गाँसेको टोपी (ह्याट) लगाउने उनी करिब सातायता ढाकाटोपीको अगाडिपट्टि कागज टाँसेर जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा पनि पुग्न भ्याइरहेका छन्।  इलामका लागि नयाँ नाम होइन धर्म गौतम। तर, अहिले उनको व्यक्तित्वभन्दा पनि उनले लगाएको टोपीतिर ध्यान छ जिल्लाबासीको। नागरिक समाजका अगुवा गौतमले ढाकाटोपीमा टाँसिएको कागजमा लेखेका छन्–डा.केसीका पक्षमा। चासो राख्नेहरूलाई चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत वरिष्ठ डा.गोविन्द केसीले राखेका माग, सरकारले उनीसँग विगतमा गरेका प्रतिबद्धतालगायतबारे बताइदिन्छन् उनी। डा.केसी जुम्लामा अनशन बसेयता गौतम खुलेरै उनको पक्षमा अभियान चलाइरहेका छन्। र, आफूलाई भन्न रुचाउँछन्–केसी समर्थक एक्लो अभियन्ता। यसअघि केसी अनशन बसेका बेला उनको समर्थनमा इलामका चोक–चोकमा ¥याली, नाराजुलुस र कोणसभा नभएका होइनन्। तर, केसीको पछिल्लो अनशनमा समर्थन गर्ने पहिलेको जस्तो सार्वजनिक कार्यक्रम चाहिँ जिल्लामा योपटक देखिएको छैन। यसअघि भएका समर्थन -याली र अभियानको पहिलो लहरमा पनि उनै गौतम देखिन्थे। तर, यो पटक चाहिँ सामूहिक रूपमा समर्थन नदेखिएपछि गौतम एक्लै केसीको समर्थनमा अभियान चलाउँदैछन्। ‘केसीको समर्थनमा प्रदर्शन गर्नेमा कि कुनै राजनीतिक दल, कि विद्यार्थी संगठनलगायत हुन्छन्, म उनीहरूको कार्यक्रममा पनि सहभागी हुन्थें,’ गौतमले भने, ‘तर, यो पटक जिल्लामा म आफैंले नेतृत्व गरेको छु, अभियन्ता पनि आफैं।’ गौतमले केसीको अभियानमा सुझबुझपूर्ण समर्थन गरेको भन्दै उनले राखेका माग पूरा गर्न दबाबको खाँचो रहेको बताए। ‘अहिलेका बहालवाला मन्त्रीसमेत सदस्य रहेको विगतको आयोगले डा.केसीका माग जायज भएको प्रतिवेदन तत्कालीन सरकारलाई बुझाएको थियो,’ गौतमले भने, ‘अहिले आफू सरकारमा भएका बेला चाहिँ आफैंले विगतमा गरेको सिफारिसविरुद्ध बोल्न कसरी सहज भएको होला ती मन्त्रीलाई र सरकारलाई।’ गौतमले स्वास्थ्य क्षेत्र सुधारको माग अब केसीमा मात्र सीमित नभई देशकै भएको बताए। ‘सरकारले नै गठन गरेको आयोगले केसीको माग उपयुक्त छ भनिसकेपछि अब त्यो माग केसीको मात्रै रहेन, हामी सबैको हो,’ गौतमले भने, ‘अहिलेको जमानमा कुन ठीक र कुन बेठिक भनेर छुट्याउन सक्ने नागरिक कम छैनन्, मैले आफ्नै विवेकले केसीलाई समर्थन गरें, असल कामलाई हामी सबैले सहयोग–समर्थन गर्नुपर्छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार