हङकङबासीले मनाए भानु जयन्ती

  टोपबहादुर याक्खा

१३ जुलाई, हङकङ– आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म दिवसको अवसरमा गैर आवासीय नेपाली संघ हङकङ (एन.आर.एन.ए.) द्धारा अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा भानु जयन्ती मनायो ।
संघद्धारा जोर्डन स्थित चुम्लुङ हिममा पहिलो पल्ट आयोजित उक्त कार्यक्रममा अध्यक्ष टिका गुरुङ लगायतका एन.आर.एन.ए.का विभिन्न पदाधिकारीहरुका साथै हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, सृजनशिल साहित्य समाजका अध्यक्ष हाङ्युग अज्ञात, साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, साहित्य श्रृंखलाका संयोजक डी.बी.पालुङवा लगायत विभिन्न साहित्यिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा उपस्थित सबैले भानुभक्तको तस्विरमा खदा र पुष्पगुच्चा अर्पण गरेसंगै शुरु भएको कार्यक्रममा संघका महासचिव किसन राईले भानुको परिचय दिदै वहाँले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा दिनु भएको योगदानको चर्चा गरेका थिए । जसरी नेपाली भाषा तथा साहित्यको क्षेत्रमा भानुभक्तले दिनु भएको योगदानलाई कदर गर्दै आज हामी विश्वभर भानु जयन्ती मनाइरहेका छौं त्यसै गरी कलाको क्षेत्रमा विशेष योगदान दिनुहुने लैनसिं बाङ्देल र संगीतको क्षेत्रमा उत्तिकै योगदान दिनुहुने अम्बर गरुङको सम्मानमा पनि जयन्तीका रुपमा मनाउँनु पर्नेमा राईले जोड दिए ।
मन्तब्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सृजनशिल साहित्य समाजका अध्यक्ष हाङ्युग अज्ञातले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा भानुको योगदानको चर्चा गर्दै जसरी भानुले संस्कृतलाई नेपाली भाषामा ढालेर नेपाली भाषालाई धनी बनाए त्यसै गरी अन्य विभिन्न जातजातिको मौलिक भाषाका लेख रचनाहरु पनि नेपालीमा ढाल्नुका साथै कति शब्दहरु सापटी लिएर नेपाली भाषालाई धनी बनाउँनु पर्छ भन्ने आफ्नो मुद्धा रहेको बताए ।
चित्रकार दिपेन्द्र राईद्धारा आफुले बनाएको भानुको चित्र संघका अध्यक्ष टिका गुरुङलाई हस्तान्तरण गर्दै भानुको बारेमा बोलेका थिए भने श्रृंखलाका संयोजक डी.बी. पालुङ्वा, सह–संयोजक सुनिता गिरी, कवि पूर्णिमा शाह लगायतले सृजना वाचन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संघकी अध्यक्ष टिका गुरुङले उपस्थित सबै प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा हङकङमा रहेका सबै साहित्यिक संघ संस्थाहरुसंग आवश्यक समन्वय तथा सहकार्य गर्दै भानु जयन्तीलाई धुमधामका साथ मनाउँने बताईन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार