डा. केसीलाई स्वास्थ्य शिक्षामा सुधारको जिम्मेवारी लिनप्रधानमन्त्री ओलीको आग्रह

  बगैचा सम्वाददाता

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीलाई प्रधानमन्त्री ओलीले वार्ता र सम्वादमा आउन आग्रह गर्दै स्वास्थ्य शिक्षामा सुधारको जिम्मेवारी लिन समेत आग्रह गरेका छन्।  ‘डा. केसीलाई भन्न चाहन्छु, आउनुस् स्वास्थ्य शिक्षामा कसरी सुधार गर्नुपर्छ, तर्कपूर्ण रुपमा आउनुस। बरु तपाई नै जिम्मा लिनुस्। गर्नुपर्ने के हो भन्नुस्’, ओलीले भने। प्रधानमन्त्री ओलीले डा. केसीलाई देखाएर राजनीतिक दल र अरुले फाइदा उठाइरहेकोमा चिन्ता व्यक्त गर्दै हठ त्यागेर वार्ता र सम्वादमा आउन पुनः आग्रह गरे। ‘कसकसको आदेश फर्मान हामीले मान्नुपर्छ’, प्रधानमन्त्रीले प्रश्न गरे, ‘यस्तो हुँदैन। लोकतान्त्रिक तर्क, तथ्यसंगत ढंगले सम्वादका माध्यमबाट समाधान गर्नुपर्छ। छलफल गरौं।’ ‘गोविन्द केसीजीलाई जुम्बाट स्वास्थ्य उपचारका लागि ल्याउन नदिएर उपद्रो मच्चाइयो, गर्न खोज्या के, ल्याउन दिइँदैन, तमासा देखाइन्छ गर्न खोजेको के’, ओलीले कांग्रेसलाई प्रश्न गरे, ‘डा. केसीको स्वास्थ्य परीक्षण गर्यो भने के विग्रिन्छ भनेर आतंकित हुनुभयो? अरु डाक्टरलाई छेउछाउ पर्न नदिने, सरकारका तर्फबाट स्वास्थ्य परीक्षण गर्छौ भन्दा छेउमै पर्न नदिने, गर्न खोजेको के ?’ डा केसीको अनशनलाई कतिपय मान्छेले सत्याग्रह भनिरहेको भन्दै उनले सत्याग्रह यस्तै हठ गरेर मुड्की कसेर हुन्छ भनी प्रश्न गरे।

डा. केसीको आज २५ औँ दिन हो । जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो दिएको छैन। डा. केसीले आफूलाई जबरजस्ती काठमाडौं ल्याएको विरोधमा स्वास्थ्य जाँच गर्नै दिएका छैनन् । उनलाई काठमाडौं ल्याउनासाथ सरकारी पक्षले पहिला उपचार गर्ने र स्वस्थ भएपछि मात्रै वार्ता गर्ने भनेर सत्याग्रहको अपमान गरेको डा. केसी निकट चिकित्सक अभिषेक सिंहले बताए ।नेपाली सेनाको हेलिकप्टरमा त्रिवि शिक्षण अस्पतालमा लगेर छाडेपछि डा. केसीको अवस्था बुझ्न कुनै पनि सरकारी प्रतिनिधि त्रिवि शिक्षण अस्पताल पुगेका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार