इन्काउन्टर नै शंकास्पद, मृतकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

  बगैचा सम्वाददाता

काठमाडौँ

काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरण र हत्या गर्ने दुई युवक प्रहरी इन्काउन्टरमा मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो। सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ।

यसैबीच मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका गोपाल तामाङ र अजय तामाङका परिवारले गैरन्यायीक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्। उनीहरुले घटनाको छानविन गर्न माग गरेका छन्।

घटनामा प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ। नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्न पनि निकै शंकास्पद छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ। प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन। ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई शंकास्पद मानेका छन्।

अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएका छन् । सार्वजनिक भएको अपहरणकारीको फोटोमा उनीहरूको खुट्टामा चप्पल देखिन्छ। जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन त्यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सक्थ्यो।  महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ। अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे। अवस्थामा प्रहरीले घुँडामुनि गोली हानेर वा अपहरणकारी भाग्ने सम्भावित दिशामा व्यापक जनशक्ति परिचालन गरेर अपहरणकारीलाई सजिलै समात्ने सम्भावना हुन्थ्यो। घटनास्थल क्षेत्रका केही बासिन्दाले मारिएका गोपाल र अजयलार्इ प्रहरीले राती नियन्त्रणमा लिएका थिए भन्ने जानकारी समेत प्राप्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार