नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, जनप्रतिनिधिलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिइने

  बगैचा सम्वाददाता

काठमाडौ

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । सचिवालय बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने र पार्टीका जनवर्गीय संगठनका कार्यालय तथा अन्य विभागहरु भने पेरिसडाँडामा रहने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष, उपाध्यक्ष वा सचिवको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधिलाई कुनै पनि स्तरको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको छ । नेकपाले संघीय र प्रदेशका मन्त्री, प्रादेशिक दलका नेता/उपनेता, संघीय र प्रदेशसभाका प्रमुख सचेतक, मुख्य सचेतक वा सचेतक, संसदीय समितिका सभापति र महानगर, नगरका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका सभापति/उपसभापति, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई कुनै पनि स्तरको कार्यकारी पद नदिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, नेकपाले संघीय र प्रादेशीक सांसद र सभाका सदस्यलाई पनि जिल्ला, पार्टी वा तल्लो कनै कमिटीको अध्यक्ष वा सचिवको जिम्मेवारी नदिने भएको निर्णय प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टी प्रवक्ता श्रेष्ठका अनुसार पार्टीका सबै तहमा सांगठनिक एकतालाई सहज बनाउन यो निर्णय गरिएको हो । त्यसैगरी प्रदेशस्तर र जिल्लास्तर सांगठनिक एकीकरणको लागि सुझाव दिन गठन गरिएको कार्यदलको समय साउन मसान्तरसम्म बढाउने निर्णय पनि बैठकले गरेको छ । सो कार्यदलको समय शुक्रबार सकिंदै थियो । पार्टीलाई थप व्यवस्थित बनाउनका लागि विनियम, निर्देशिका, आचारसहिंता निर्माणका लागि सुवास नेवाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वेदुराम भुसाल रहेको कार्यदल बनाइएको छ । बैठकले ती कार्यदललाई केन्द्रीय सल्लाहकार, राष्ट्रिय परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग र विभागमा रहने सदस्यको नाम सिफारिस गर्न पनि निर्देशन दिएको छ । विधान र नियमावली जारी गरिसकेको नेकपाले राजनीतिक प्रतिवेदन भने साउन मसान्तसम्म प्रकाशित गर्ने भएको छ । सचिवालय बैठकले स्थायी समिति बैठक भदौ ८ र ९ गतेका लागि बोलाएको छ । त्यस्तै नेता नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई सेक्टेम्बर १२ देखि १९ गते सम्मको एक हप्ते चीन भ्रमणमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार