कम्युनिस्ट पार्टीका प्रवक्ता रिहा भए लगत्तै पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौं

हिरासतमा रहेका पूर्वपर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकलाई सर्वोच्च अदालते थुनामुक्त गर्न आदेश दिए लगतै प्रहरीले पुन: पक्राउ गरेको छ । सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय चोलेन्द्र शम्शेर जवरा र तेजबहादुर केसीको इजलासले मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश लगतै रिहा भएका नेता विकलाई सार्वेच्च परिसरबाटै पक्राउ गरिएको छ । उनीमाथि काभ्रेमा आगजनी र संगठित अपराधको मुद्दा रहेको र सोही मुद्दामा काभ्रे प्रहरीको पत्रका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई काभ्रे प्रहरीमा बुझाउने तयारी भैरहेको काठमाडौं प्रहरीले जनाएको छ । यसअघि विकका छोरा नरेन्द्रबहादुरले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गत आइतबार सार्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।  आइतबार दायर रिटमाथि सोमवार सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले चन्दा उठाएको प्रमाण भएको र जिल्ला अदालतबाट म्याद लिएर नै हिरासतमा राखिएको लिखित जवाफसहित नेता विकलाई हिजोअदालत उपस्थित गराएको थियो । चन्दा ऐन २०३० अनुसार प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो । जवरजस्ती चन्दा संकलन गरेको आरोपमा प्रहरीको विशेष टोलीले विकलाई काठमाडौंको चाल्नाखेलबाट गत साउन २२ गते पक्राउ गरेको थियो । उनले ७ करोड ५० लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेको देखिएको प्रहरीको दाबी छ । उनको खातामा मात्रै २ करोड रुपैयाँ देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार