०५ भदौ २०७५,
काठमाडौं – संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए। न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन्। सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन्। कानुनअनुसार आफू नै वरिष्ठ भएकाले प्रधानन्यायाधीश हुनुपर्ने जिकिर गरे। समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मुद्दाका दैनिक सूची तोक्नेदेखिको जिम्मेवारी सम्हालेका छन्। जोशी भने कामु प्रधानन्यायाधीशकै हैसियतमा बालुवाटार सरकारी निवासमा बस्दै आएका छन् । ‘म वरिष्ठ न्यायाधीश हो,’ उनले भने ‘६ दिन बिदा लिएको छु। त्यसपछि कोर्ट जानैपर्छ।’ आफूभन्दा कनिष्ठ कामु प्रधानन्यायाधीशको मातहतमा काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले ‘न्यायाधीश जुनियर हुँदै हुँदैन’ भन्ने जवाफ दिए। कुनै पनि न्यायाधीशले स्वतन्त्र रूपले काम गर्नुपर्ने उनले बताए। शुक्रबार कामु प्रधानन्यायाधीशका हैसियतमा निकालिएको विज्ञप्तिलाई लिएर आफूले कुनै टीकाटिप्पणी नगर्ने भन्दै उनी तर्किए। ‘यसलाई लिएर कुनै टिप्पणी नगरौं। त्यही रहन दिऊँ,’ उनले भने। संवैधानिक परिषद्ले अरूका नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेमा ‘उसैले कानुन नबुझेको हुनेछ’ भन्ने टिप्पणी उनले गरे। संविधानअनुसार परिषद्ले योग्यताको हकमा सिफारिस गर्नुपर्नेमा उनले जोड दिए । उनी लामो समय भने बोल्न भने चाहेनन्। उनले संसदीय सुनुवाइ समितिले साउन १८ मा आफूलाई अस्वीकृत गरेको निर्णयको प्रतिलिपि थमाउँदै भने, ‘मैले मिडियालाई दिने यही हो, राम्रोसँग पढेर बुझ्नु।’ निर्णयमा लेखिएको छ, ‘संवैधानिक परिषद्को ०७५ जेठ २९ को पत्रानुसार प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि दीपकराज जोशी सुनुवाइ समितिको कार्यविधिबमोजिम सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवका आधारमा पदका लागि अयोग्य देखिनुभएको छ।’ सुनुवाइ समितिको कार्यविधिअनुसार ४५ दिनसम्म सुनुवाइ गरी प्रस्तावित पदका लागि नपठाएमा नियुक्तिका लागि बाधा नपर्ने उल्लेख छ । त्यही नियमका आधारमा आफू नै प्रधानन्यायाधीश हुने उनले जिकिर गरे। उनी राजीनामा दिने मनस्थितिमा नभई फेरि आफूलाई संवैधानिक परिषद्बाट पुनः सिफारिस गराउनका लागि दौडधुपमा देखिएका छन्। भदौ १ देखि लागू भएको नयाँ मुलुकी देवानी, अपराध संहिता कार्यान्वयनको सन्दर्भमा बालुवाटारबाट एक शुभकामना सन्देश जारी भएको थियो। शुभकामना सन्देशमा कामु प्रधानन्यायाधीशका हैसियतमा उनले हस्ताक्षर गरेका थिए। सञ्चारमाध्यमका लागि उनका छोरा प्रवीन्द्रराज जोशीको इमेलबाट कामु प्रधानन्यायाधीशका तर्फबाट शुभकामना पठाइएको थियो। दुईजना कामु प्रधानन्यायाधीश भएको टिप्पणीको खण्डन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भने कामु प्रधानन्यायाधीश दुईजना हुन नसक्ने बताएका थिए। उनले कामुप्रन्या ओमप्रकाश मिश्र नै भएको बताएका थिए। प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्द्वारा प्रस्तावित जोशीको नाम समितिको सम्पूर्ण सदस्यको दुईतिहाइबाट अस्वीकृत गर्ने निर्णय गरेको थियो।