बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी …………

०६ भदौ २०७५,
काठमाडौं – बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन्। बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको सेन्चुरी कमर्सियल बैंकका टे«जरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए । ‘बैंकले सदा झैं दैनिक २० किलो सुन आयात गरिरहेका छन्,’ उनले मंगलबार भने, ‘अभाव हुनु नपर्ने हो तर भइरहेको छ। बजारमा सुनको मूल्यमा अत्यधिक गिरावट आएकाले किनेर राख्ने प्रवृत्ति बढ्दा अभाव देखिएको उनको भनाइ छ । ‘सुनको मूल्य ओरालो लाग्दा किनेर राख्ने र बढ्दा बेच्ने परिपाटीले अभावजस्तै भएको हो,’ उनले भने, ‘नजिकिँदै गरेका चाडपर्वमा सुनको भाउ बढ्छ । अहिले सस्तोमा किनेर त्यस बेला बेच्दा फाइदा हुने भएकाले सुनको कृत्रिम अभाव सिर्जना गरिएको हो ।’ अभाव भएको भन्दै व्यापारीले सकेसम्म ढिका सुन बिक्री गर्दैनन् । बेच्नै परे बजार मूल्यभन्दा प्रतितोला तीन हजार रुपैयाँभन्दा बढी लिएर दिने गरेका छन्। कृत्रिम अभाव सिर्जना गरेर ठूला व्यवसायीले कालो बजारमा सुन बेचेर अवैध नाफा कमाइरहँदा ग्राहकले भने नोक्सानी बेहोर्नुपरेको छ । तीज नजिकिँदै आउँदा सुनको माग बढेर प्रतिदिन ४० किलो पुग्न लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बैंकले बिक्री गर्ने २० किलो र अतिरिक्त पाँच किलो सुन पुराना गहना बेच्नेबाट आए पनि १५ किलो नपुग भएको शाक्यले बताए । ‘सुन सस्तिएको र चाडपर्व सुरु भएकाले माग ह्वात्तै बढेको हो,’ शाक्यले भने, ‘दैनिक साढे सात करोड रुपैयाँको सुन अपुग छ।’ सुनको कृत्रिम अभाव देखाएर बजारमा तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा कारोबार भइरहेको छ । यो धन्दामा ठूला सुन व्यवसायी संलग्न भएको जानकार बताउँछन्। अहिले एक किलो सुनको करिब ४८ लाख रुपैयाँ पर्ने शाक्यले बताए । सुन अयातको कोटा बढाउन पटक–पटक आग्रह गरे पनि कसैले नसुनेको शाक्य बताउँछन् । ‘माग बढेको छ, आपूर्ति बढेन,’ उनले भने । तेजमिन ज्वेलरीका सञ्चालक रहेका शाक्यले ग्राहकको चित्त बुझाउन हम्मे परेको पनि बताए । सुन सस्तिँदा माग बढेको छ । सस्तिएका बेला सर्वसाधारणले सुन बिक्री गर्दैनन् । राजधानीमा मात्र नभएर जिल्ला–जिल्लामा सुन अभाव देखिएको छ । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार आठ सय रुपैयाँ थियो । चाडपर्वका लागि जिल्लाबाट सुन किन्न काठमाडौं आएका व्यवसायीले रित्तै फर्किनुपरेको गुनासो गरेका छन् । काठमाडौंका व्यवसायीले सुन नपठाएपछि जिल्लाका व्यवसायी सुन लिन काठमाडौं आएका हुन् । बागलुङकी लक्ष्मी सुनार सुन किन्न काठमाडौं आएको एक साता भएको छ । उनले अझैं सुन पाएकी छैनन् । ‘व्यवसायीले बजारमूल्यभन्दा प्रतितोला तीन हजार रुपैयाँ बढी तिरे दिन सकिने अन्यथा नसकिने भनेपछि दोधारमा छु,’ उनले भनिन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार