७६ औं साहित्य श्रृंखलामा स्व.मनुजबाबु मिश्र प्रति शोकसभा

  टोपबहादुर याक्खा

       २६ अगष्ट, हङकङ–  चर्चित चित्रकार तथा साहित्यकार स्व.मनुजबाबु मिश्र प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७६ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित ८ अगष्ट, बुधबार बिहान ८३ वर्षको उमेरमा ह्दयघातका कारण असामयीक निधन भएका स्व.मिश्रको स्केचमा फूल चढाउँदै १ मिनेट मौनधारण गरिएको थियो । त्यस लगत्तै चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले स्व.मिश्रको जीवनी बताएका थिए भने अर्का साहित्यकार दाजु गुरुङले समेत उनी बारे बोलेका थिए ।
त्यस लगत्तै उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, सुनिता गिरी, पवित्रा राई लगायतले सृजना वाचन गरेर सुनाएका थिए भने साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, हेम कुमार लावती तथा श्रृंखलाका संयोजक डी.बी. पालुङवाद्धारा वाचित सृजना लगायत समग्र कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको श्रृंखलाले आगामी ३० सेप्टेम्बर आइतबारका दिन हङकङबासी साहित्यकारहरुको विविध विधाका सृजनाहरु समेटिएको प्रकाशोन्मुख “श्रृंखला भाग–३” पुस्तक सार्वजनिक संगै ७ औं वार्षिकोत्सव मनाउँदै छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार