१८ बुँदे काठमाडौ घोषणापत्र जारीसँगै सक्कियो चौथो बिमस्टेक

  बगैचा सम्वाददाता

 काठमाडौ

काठमाडौमा जारी चौथो (बिमस्टेक) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासको शिखर सम्मेलन १८ बुँदे काठमाडौ घोषणापत्र जारीसँगै सकिएको छ ।  हिजो सुरु सम्मेलनले वडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्ने विभिन्न एजेण्डा समेटिएको काठमाडौं घोषणापत्र जारी गरेको हो । शिखर सम्मेलनका क्रममा बिमस्टेक ग्रिड ईन्टरकनेक्सनसम्बन्धी सम्झौता पनि भएको छ । सातै सदस्य राष्ट्रका कार्यकारी प्रमुखको उपस्थितीमा परराष्ट्रमन्त्रीहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थल र जलमार्गको कनेक्टिभिटिका लागी गुरु योजना, क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनिति पहिल्याई कार्यान्वयन गर्ने, बिमस्टेकको वडापत्र बनाउने र संयुक्त लगानी कोष स्थापना गर्ने, भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य गर्ने सहमति पनि भएको हो । सम्मेलनको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गर्नुभयो ।   आजको बैठक शुरु हुनुअघि सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा ’रिट्रिट’ दिइएको छ । नेपाल सरकारको आयोजनामा बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता थियो । रिट्रिटमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखबीच अनौपचारिक छलफल भएको थियो ।  सम्मेलनमा सात राष्ट्रका प्रमुखहरू नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए । पाँचौ शिखर सम्मेलनको आयोजना श्रीलंकाले गर्ने भएको छ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार