एसपी बिष्ट निर्मला हत्याको मुख्य दोषी, प्रतिवेदन तत्काल सार्वजानिक नहुने

  बगैचा सम्वाददाता

काठमाडौं
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टलाई मुख्य दोषी देखाइएको छ ।अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकाल्दै समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी ठहराएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ। प्रतिवेदनमा एसपी बिष्टकै कारण आन्दोलनको स्वरुप बढेको तथा पीडित परिवारले न्याय पाउन ढिलाइ भएको उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो। प्रतिवेदनमा प्रहरीबाट भएका लापरबाही उल्लेख गरिएको छ। पीडित परिवारले शंका गरेका व्यक्तिहरुलाई जिल्लाका तत्कालीन प्रहरी अधिकृतहरुले किन संरक्षण गरे भन्ने विषय पनि खुलाइएको छ। गृह मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ। समितिले प्रहरीको लापरबाही र घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार पारेकाले बलात्कार र हत्याको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै भएको उल्लेख छ। प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले अनुसन्धानमा सहयोग मिलेको पनि उल्लेख छ। ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँदैनथ्यो। त्यसलाई जोगाइएको छ। यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुनेछ’, प्रतिवेदन उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘घटनास्थलमा देखिएका सबै विषय प्रतिवेदनमा छ। त्यसले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ।’

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार