नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याए………

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला नेता नेपालले पार्टीभित्र रहेको गुटबन्दी बाहिर ल्याएका हुन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको चार महिना बित्दासमेत तल्ला तहको कमिटी एकीकरणमा विलम्ब भइरहेका बेला नेता नेपालसहितका नेताहरूले संस्थापन पक्षबाट पेलाइमा परेको गुनासो गरेका छन्। नेता नेपालले शुक्रबार सार्वजनिक रूपमै पार्टी एकता प्रक्रिया र प्रवृत्तिबारे मुख खोलेका हुन्। आफू विदेश भ्रमणबाट फर्किएपछि प्रदेश पदाधिकारीको टुंगो लगाउने पूर्वसहमतिविपरीत दुई अध्यक्षसहित सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेता नेपाल असन्तुष्ट छन्। पार्टीका महत्वपूर्ण निर्णय गर्ने अधिकार पार्टी स्थायी समितिलाई भए पनि त्यसविपरीत निर्णय हुन थालेको असन्तुष्ट पक्षले गुनासो गर्दै आएको छ। शुक्रबार इन्द्रेणी फुडल्यान्डमा सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा अन्य स्थायी समिति सदस्यहरूको उपस्थितिमा नेता नेपालले निर्णय विधिसम्मत नभएको भन्दै असन्तुष्टिलाई लिखित रूपमै पार्टीमा लैजाने जनाएका थिए। नेता नेपाल पक्षले हाल भइरहेका पार्टीका निर्णय विधि र मापदण्डविपरीत दुई अध्यक्षको निर्णयअनुसार मात्र भइरहेको आरोप लगाउँदै आएको छ। नेकपामा तल्लो तहका समितिको एकीकरण प्रक्रिया अझै सम्पन्न हुन सकिरहेको छैन। जिल्ला तथा जनवर्गीय संगठनको विवाद थाती राखेर हालै गरिएको प्रदेश पदाधिकारीको नियुक्ति पनि विवादरहित हुन सकेको छैन। पार्टीको आन्तरिक एकीकरणलाई लिएर दलका शीर्ष नेताबीचमै विवाद बढ्न थालेपछि तल्लो तहकानेता कार्यकर्तामा पार्टी एकीकरणप्रति उत्साह भन्दा बढी निराशा देखिन थालेको छ। नेकपामा शीर्ष नेताले आफू निकटका नेताकार्यकर्तालाई च्यापेको भन्दै गुटउपगुटमा विवाद भइरहेका बेला कतिपय गुटविहीन नेताहरूले आफ्नो योग्यता र योगदानको मूल्यांकन नभएको भन्दै गुनासो गरिरहेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूले योग्यता र क्षमताकै आधारमा जिम्मेवारी दिएको दाबी गरेका छन्। नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली पार्टीको स्थायी समिति बैठक नबस्दा समस्या देखिएको बताउँछन् । उनले हाल विदेश भ्रमणमा रहेका दुवै अध्यक्ष स्वदेश फर्किएपछि स्थायी समितिमार्फत विधि र मापदण्ड बनाएर विवाद समाधान गरिने बताए। ‘मापदण्ड बनाउने विषय कुनै निहुँ खोज्ने कुरा होइन, यो त एकीकरणलाई कसरी वैज्ञानिक बनाउने भन्ने विषय हो,’ ज्ञवालीले भने, । असहमतिलाई छलफलमार्फत टुंग्याउनुपर्छ।’ थायी समिति बैठक बसेर विधि र मापदण्ड बनाएर अघि बढेपछि कुनै विवाद नहुने उनको तर्क छ। नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भने सामान्य आलोचनात्मक कुराले पार्टी एकीकरण प्रक्रियामा कुनै असर नपर्ने बताउँछन्। ‘यस्ता विषयले पार्टी एकीकरणमा कुनै असर पर्दैन,’ उनले भने, ‘एकीकरण टुंग्याउने विषयमा कुनै विवाद छैन र यो टुंगिन्छ, कुनै शंकै छैन।’ आलोचना पार्टी र सरकारलाई सफल बनाउनेतर्फ हुनुपर्ने र आलोचनाले सरकारको कामलाई अझ सकारात्मक र सफल बनाउनुपर्ने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार