राजधानीका संरचना छिन्नभिन्न………

विराटनगर – प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्। मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यस“ग छुट्टाछुट्टै अनौपचारिक बैठक राखेर छलफल तीव्र पारेका छन्। बृहत् विराटनगरको अवधारणा बजेटले नै ल्याएको भन्दै सोहीअनुसार प्रदेशको राजधानी मोरङ र सुनसरीमा हुनुपर्ने एकथरीको तर्क छ। अर्कोथरीको तर्क भने कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै स्थानमा राख्न नहुने भन्ने छ। प्रदेशका मन्त्रालय, विभाग, व्यवस्थापिका, कार्यपालिकालगायत महत्वपूर्ण संरचना भिन्नाभिन्नै जिल्लामा राख्दा व्यावहारिक समस्या निम्तिने उनीहरूको धारणा छ । सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन एउटै कम्पाउन्डभित्र कार्यालय राखेर सेवा दिनु उपयुक्त हुने प्रदेश सांसद विमल कार्की बताउँछन्। प्रदेशका सबै कार्यालय एउटै कम्पाउन्डभित्र राख्ने अवस्था नभएको र बजेटमै ग्रेटर विराटनगरको अवधारणा ल्याइएकाले ग्रेटर विराटनगरले समेटेको क्षेत्रभित्र प्रदेशका संरचना राख्दा उपयुक्त हुने कार्कीको धारणा छ। उनले भने, ‘बजेटले परिकल्पना गरेको ग्रेटर विराटनगरभित्र प्रदेशका कार्यालय राख्दा उपयुक्त हुने देखिन्छ। सरकारले ल्याएको ग्रेटर विराटनगर अवधारणाले विराटनगर, सुन्दरहरैंचा, केराबारी, धरान, इटहरी, इनरुवा दुहवीलगायतका सहर समेटेको छ। संघीय राजधानीका संरचना तीनवटा जिल्लामा राखिएकाले प्रदेश १ को राजधानीका संरचना पनि बृहत् विराटनगरभित्रको मोरङ र सुनसरीमा राख्दा उपयुक्त हुने उनको धारणा छ। प्रदेश राजधानी तोकेर रडाको मच्चाउनुभन्दा तत्काल राजधानी नतोक्नु नै उपयुक्त हुने कार्की बताउँछन्। राजधानीका पूर्वाधार निर्माण गर्न अझै चार वर्ष लाग्ने भएकाले पूर्वाधार नबनाई राजधानी तोक्नुको अर्थ नहुने कार्की बताउँछन्। प्रदेशको राजधानी र संरचना राख्नेबारे अनौपचारिक छलफल मात्र भएको नेकपाका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले बताए। उनका अनुसार १५ र १६ गते हुने संसदीय दल बैठकमा राजधानीका विषयमा औपचारिक छलफल सुरु हुनेछ। उनले राजधानीका संरचना बृहत् विराटनगरभित्र समेट्न प्रयास भइरहेको पनि बताए । ‘प्रदेशका हरेक जिल्लामा संरचना बाँड्ने नभई बृहत् विराटनगरको अवधारणालाई कार्यान्वयन गर्ने गरी प्रदेशका संरचना राख्ने प्रयास भइरहेको छ’, राजभण्डारीले भने। बृहत् विराटनगरको अवधारणाअनुसार राजधानीका संरचना राख्दा खासै फरक नपर्ने नागरिक समाजका प्रतिनिधि बताउँछन्। मोरङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मुरारी कोइरालाले विराटनगरलाई राजधानी तोकेर आसपासका क्षेत्रमा राजधानीको संरचना राख्दा त्यति फरक नपर्ने बताए। बृहत् विराटनगरको अवधारणाअनुसार प्रदेशका संरचना राख्दा उपयुक्त हुने उनको धारणा छ। उनले भने, ‘मोरङ र सुनसरीका सहरमा राजधानीका संरचना राख्दा उपयुक्त हुने देखिन्छ।’ प्रतिपक्ष दलहरूले भने राजधानीका संरचना छिन्नभिन्न पार्ने कदम व्यावहारिक रुपमा ठिक नहुने धारणा राखेका छन्। उनीहरूले राजधानीका संरचना छिन्नभिन्न पारिए आफूहरूलाई मान्य नहुने चेतावनी दिए। प्रमुख प्रतिपक्ष दल कांग्रेसका सचेतक सूर्यमाराज राईले प्रदेशको राजधानी जहा“ हुन्छ संरचनाहरू पनि त्यहीं हुनुपर्ने धारणा राखे। उनले भने, ‘सरकारको सेवा प्रवाह प्रभावकारी बनाउन एकीकृत रुपमा एउटै कम्पाउन्डभित्रबाट सबै सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्छ।’ संघीयताको मर्मविपरीत जनतामा वितृष्णा उत्पन्न हुने गरी सरकारका संरचना छरपष्ट पार्न नहुने राईले बताए। संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले कसैको चित्त बुझाउने नाममा सरकारका संरचना छर्नु उपयुक्त नहुने बताए । यादवले भने, ‘सरकारका संरचना छरेर जनतालाई दुःख दिनु उपयुक्त हैन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार