साहित्य श्रृंखलाको सातौं वार्षिकोत्सवमा श्रृंखला–४ विमोचित

  टोपबहादुर याक्खा

३० सेप्टेम्बर, हङकङ– ‘श्रृंखला भाग–४’ पुस्तक विमोचन गर्दै ७७ औं श्रृंखला संगै हङकङ साहित्यिक साझा श्रृंखलाको सातौं वार्षिक उत्सव सम्पन्न भयो ।
श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ट साहित्यकार अतित मुखिया रहेका थिए । त्यस्तै गरी श्रृंखलाका संरक्षक तथा साब्लाबुङ पुस्तकालय अभियानका राज कुमार राई, संरक्षक तथा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, संरक्षक दाजु गुरुङ, देश सुब्बा, नेपाली भाषा तथा साहित्य परिषदका अध्यक्ष किसन राई, हङकङ नेपाली महासंघकी अध्यक्ष तथा कवि रिता गुरुङ, सल्लाहकारहरु लालबहादुर गुरुङ, बज्र कुमार राई लगायतका साहित्यिक व्यक्तित्वहरु विशेष अतिथिका रुपमा रहेका थिए ।
श्रृंखलाका सल्लाहकार टोपबहादुर याक्खाको स्वागत मन्तव्यसंगै शुरु भएको औपचारिक कार्यक्रममा गत मार्च महिनामा असामयिक निधन भएका साहित्यकार स्व.ईन्द्रबहादुर राई प्रति विशेष समर्पित ‘श्रृंखला भाग–४’ पुस्तक सामूहिक रुपमा विमोचन गरिएको थियो । हङकङबासी ३५ जना साहित्यकारहरुका विभिन्न विधाका सृजनाहरु समेटिएको उक्त पुस्तकको आवरण चित्र समेत हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित स्व.ईन्द्रबहादुर राईको रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि अतित मुखिया लगायत विशेष अतिथिहरु किसन राई, रिता गुरुङ, लालबहादुर गुरुङ, राज कुमार राई, बज्र कुमार राई, दाजु गुरुङ लगायतले शुभकामना मन्तब्य राख्ने क्रममा ७७ औं श्रृंखला सम्म निरन्तर अगाडी बढिरहेको हङकङ साहित्यिक साझा श्रृंखला हङकङमा मात्रै नभएर सम्भवत विश्व भरिकै नेपाली साहित्यिक संघ संस्थाहरु मध्ये सबै भन्दा सक्रिय रुपमा निरन्तर अगाडी बढिरहेको साहित्यिक संस्था भएको बताउँदै साहित्य श्रृंखलाको खुलेर प्रशंसा गरेका थिए । ‘संस्था जन्मनु र जन्माउँनु ठूलो कुरा नभई यसले निरन्तरता पाउँनु र सबैलाई अटाउँनु सक्नु नै ठूलो उपलब्धी हो’, साहित्य श्रृंखला कुनै राजनैतिक वा व्यक्ति विशेषको गुटमा नरही सबैको साझा भएकाले नै यसले निरन्तरता पाएको साहित्य श्रृंखलाका पूर्व संयोजक तथा सल्लाहकार बज्र कुमार राईले बताए ।
जोर्डनस्थित नयाँपेजको कार्यलयमा आयोजित उक्त कार्यक्रमका सभापति डी.बी. पालुङद्धारा कार्यक्रमलाई सफल बनाउँन विशेष भूमिका निर्वाह गर्ने हङकङबासी समस्त साहित्यकार तथा साहित्यानुरागी महानुभावहरुमा विशेष धन्यवाद दिदै समापन भएको कार्यक्रमलाई श्रृंखलाकी सह–संयोजक सुनिता गिरीले संचालन गरेकी थिईन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा देश विदेशका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार