कार्यालयको लापरबाहीका कारण मूल नहर भत्कने गरेको पाइएको छ……..

काठमाडौं – आयोजना कार्यालयको लापरबाहीका कारण राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्कने गरेको पाइएको छ । ठेकेदारलाई नियन्त्रणमा राख्नुपर्नेदेखि आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व पाएको आयोजना अनेक स्वार्थमा अड्किँदा समस्या उत्पन्न भएको आशंका छ। पछिल्लोपटक गत साउन ७ गते पुनः मूल नहर भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन टोलीको अध्ययनमा आयोजना कार्यालयको कमजोरी देखिएको हो । ‘आयोजनाको ठेक्का लिएका ठेकेदारलाई कन्ट्रोलमा राख्ने र माटोको यकिन अध्ययन गर्ने जस्ता काम भएको देखिएको छैन,’ अन्तिम प्रतिवेदन तयारी गर्दै गरेका टोली संयोजक सुशीलचन्द्र तिवारीले बुधबार नागरिकसँग भने। पटकपटक मूल नहर भत्कने क्रम नरोकिएपछि स्थानीयले ठेकेदार र कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भएको आंशका गरिरहेका छन् । सोही आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताबारे छानबिन गरिरहेको छ । त्यस्तै मन्त्रालयद्वारा गठित टोलीले डिजाइन लगायत आयोजनाको व्यवस्थापकीय कमजोरीमा केन्द्रित रहँदै अध्ययन गरिरहेको छ। सिक्टाको स्थलगत अध्ययन समेत गरेर छानबिन गरिरहेका तिवारीले माटो परीक्षणका कारण अन्तिम प्रतिवेदन आउन केही ढिला भएको बताए । ‘माटोको पाँचवटा परीक्षणमध्ये चारवटाको जाँच भइसकेको छ,’ उनले भने, ‘भोलिसम्म (बिहीबार) थप एक परीक्षणको प्रतिवदेन आउँदैछ ।’ माटोको सबै परीक्षणको रिपोर्ट आएपछि र अन्तिम चरणमा रहेको छानबिनको मस्यौदाले पूर्णता पाएपछि उक्त प्रतिवेदनलाई सार्वजनिक गर्ने उनको भनाइ छ। स्थानीयले मन्त्रालयद्वारा गठित टोली र अख्तियारले छानबिनलाई गम्भीरतापूर्वक लिनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय गौरवको उक्त आयोजनाको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने क्रम नरोकिएपछि पुनः परीक्षणको कामसमेत प्रभावित भइरहेको छ । अख्तियारको छानबिन टोलीले आर्थिक अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउने र मन्त्रालयको टोलीले अब सिक्टालाई कसरी सम्पन्न गर्ने भन्नेबारे ठोस योजना अघि सार्ने अपेक्षा गरिएको छ । कतिपय विज्ञले सिक्टाको सुरुको डिजाइनदेखि नै त्रुटि भएको बताउँछन्। साउन ७ गते परीक्षणको क्रममा बाँके, ढकेरीको चंगाई नालास्थित सिक्टाको मूल नहर भत्किएको थियो । सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सिक्टाको पश्चिम खण्डको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने गरेको छ । पश्चिम खण्डको कुल ४५ किलोमिटर लामो मूल नहरमध्ये सिटिसिई कालिकाले ४२ किलोमिटर निर्माण गरेको हो। अबको दुई वर्षमा सक्ने लक्ष्य लिइएको सिक्टामा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । तिवारीले मन्त्रालयद्वारा गठन गरिएको टोलीको ध्यान ठेक्का व्यवस्थापन, डिजाइनजस्ता विषयमा बढी केन्द्रित भइरहेको बताए । अबको एक साता नकट्ने गरी अन्तिम प्रतिवेदन सार्वजनिक हुने उनको भनाइ छ । मूल नहरको केही खण्डमा घुलनशील माटो भेटिए पनि मूूल नहर भने अधिकांश भागमा भत्कने गर्छ। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा ४–५ क्युमेक्स पानी चढाउँदा नै भत्कने गर्छ । पछिल्लोपटक गत साउन ७ गते मूल नहर भत्किँदा पनि चार क्युमेक्स मात्र पानी चढाइएको थियो। सिक्टामा पटकपक मूल नहर भत्कँदा ठेकेदार कम्पनीले मर्मत र सुधार आफ्नो नभएको जिकिर गर्दै आएको छ । खासगरी पछिल्लो समयमा आयोजना कार्यालयले मूल नहर बनाउने ठेकेदारसँग मर्मत र सुधार गर्ने अवधि नवीकरण नगर्दा ठेकेदारले त्यस्तो जिकिर लिइरहेको हो । कानुनले जुनसुकै आयोजना सफल भएको एक वर्षसम्म कुनै समस्या आए त्यसको मर्मत र सुधार गर्ने दायित्व ठेकेदारकै हुने व्यवस्था गरेको छ। मूल नहर निर्माण गर्ने कालिकाले दुई वर्षअघि काम सकिएको मूल नहरको निकै लामो समय गुजारेर परीक्षण गर्नुको कुनै अर्थ नहुने दावी गर्दै आएको छ । मूल नहरको काम अघिल्लो वर्ष सकिए पनि आयोजना कार्यालयले पछिल्लोपटक गत साउन ७ गते परीक्षण गरेको थियो । यतिखेर त्यो भत्किएको मूल नहर कसले मर्मत र सुधार गर्ने भन्नेमा समेत विवाद देखिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार