मूल्य बढेसँगै विपन्नलाई भान्सा चलाउनै मुस्किल……..

२१ असोज २०७५,
धनगढी – दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ। सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन्। उनले भनिन्, ‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामग्रीको मूल्य बढेको छ।’ खानेतेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन्। ‘तेलमात्र हैन, चामल, पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको छ,’ उनले भनिन्। धनगढीस्थित शिवशक्ति भोजनालयका सञ्चालक धर्मराज भट्ट पनि खाद्य सामग्रीको मूल्य बढेको बताउँछन्। तरकारीको मूल्य पनि अकासिएको उनको भनाइ छ। ‘हरेक तरकारीको मूल्य प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म बढेको छ,’ उनले भने। धनगढीमा एक साताअघि प्रतिकिलो ६४ रुपैयाँमा बिक्री भएको मसिनो चामल अहिले ७० रुपैयाँ, १ सय ८५ रुपैयाँ पर्ने पिठो (५ किलोको प्याकेट) दुई सय १० रुपैयाँ, ७५ रुपैयाँमा पाइने खानेतेल आधा लिटर ८० रुपैयाँमा किनबेच भइरहेको छ। बैतडीमा पनि खाद्यान्नमा प्रतिकिलो पाँचदेखि ३० रुपैयाँसम्म मूल्य बढेको छ। नयाँ आर्थिक वर्ष लागेसँग बढ्न थालेको बजारभाउ यतिबेला अकासिएको छ। ‘स्थानीय किसानले उत्पादन गरेका सामानको भाउ बढेको छैन,’ पाटन नगरपालिका–६, का हरिश विष्टले भने, ‘तर बाहिरबाट ल्याइएका सामानको मूल्य छोइनसक्नु छ।’ दालचामलदेखि नुन तेल, चिनी, तरकारीको भाउ बढेपछि सर्वसाधारण समस्यामा परेका छन्। विशेषगरी मजदुरी गरेर गुजारा चलाउने वर्ग मूल्यवृद्धिले पिल्सिएको छ। सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएपछि दैनिक उपभोग्य सामानको मूल्य झन् बढेको उपभोक्ताको गुनासो छ। खुद्रादेखि होलसेल पसलेले आफूखुशी हरेक सामानको मूल्य बढाएका छन्। नियमनकारी निकायको फितलो बजार अनुगमनले उपभोक्ता ठगिएको उद्योग वाणिज्य संघ, बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए। बजारमा खाद्यान्न, तरकारी, फलफूल, पेयपदार्थ, तेल, मासु, पानी, औषधिलगायत वस्तु तथा सेवामा मूल्यवृद्धिसँगै गुणस्तरहीन सामान बेच्ने क्रम रोकिएको छैन। अनियन्त्रित मूल्यवृद्धिको मारमा विपन्नदेखि मध्यम वर्ग नराम्ररी पिल्सिएको जगन्नाथ बुहमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनका अनुसार मूल्यवृद्धि नियन्त्रण गर्ने र बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ कसैले चासो दिएको छैन। मूल्य आफैंमा स्थिर नहुने भए पनि एक्कासि बढ्दा समस्या उत्पन्न भएको छ। बिचौलियाकै कारण किसानले उत्पादन गरेको दूध, घ्यू, तरकारीको भाउ बढ्दै गएको छ तर किसानले मूल्य पाएका छैनन्,’ पाटन नगरपालिका–४ का लालबहादुर महराले भने, ‘बिचौलियाले भने दोब्बर फाइदा लिएका छन्।’ मूल्यवृछिसँगै बजारमा कालोबजारी पनि बढेको छ। पेट्रोलियम पदार्थमा पनि कालोबजारी हुने गरेको स्थानीय बताउँछन्। सतबाँजस्थित नेपाल आयल निगमको अधिकृत बिक्रेता भण्डारी आयल स्टोरले पेट्रोल ल्याउन छाडेपछि अन्य पसलेले एक लिटर पेट्रोल एक सय ३० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन्। गोठालापानी, शाहीलेकलगायत बजारमा बोतलमा राखेर पेट्रोल बिक्री भइरहेको छ। मूल्यवृद्धि, खाद्यान्नमा मिसावट र अराजकता नियन्त्रण गर्न स्थानीय तहले कुनै पहल नगरेको उपभोक्ताको गुनासो छ। बझाङमा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । सरकारले करको दर र दायरा बढाएसँगै दैनिक उपभोग्य सामानको मूल्य बढेको हो। बझाङमा चामल, दाल, तेल, चिनी, पिठो, पेट्रोल र डिजेलको मूल्य अकासिएको छ। दसैंको मुखमा एकाएक उपभोग्य सामानको मूल्य बढ्दा मर्कामा परेको बताउँदै जयपृथ्वी नगरपालिका–३ का कलक नेपालीले भने, ‘दैनिक भारी बोकेर गुजारा चलाउँछु, खाद्यान्नमा मूल्य बढ्दा हामीजस्ता न्यून कमाइ भएकालाई घरधन्दा चलाउनै मुस्किल छ।’ उनले दसैंको मुखमा मूल्य घट्नुको साटो बढ्न थालेको भन्दै चिन्ता गरे। ‘मजदुरी गेरबापत पाउने ज्याला बढेको छैन, उही छ,’ उनले भने, ‘तर बिहान–बेलुका खाने चिजको मूलय महिनादिनमै अकासिएको छ।’ धनगढीमा सामानको मूल्य बढेको र ढुवानी भाडा पनि महँगिएकाले बझाङमा पनि मूल्य समायोजन गर्नुपरेको बझाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा स्थानीय व्यापारी जगत मल्ल बताउँछन्। बझाङमा धनगढीबाट सामान आपूर्ति गरिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार