सुरू भयो दशैं, आज घटस्थापना

  बगैचा सम्वाददाता

काठमाडौ

हिन्दु धर्मावलम्बीको महान पर्व बडादशैं आज शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु हुने गर्दछ । घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा थियो । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाउने चलन छ । घटस्थापनाको उपलक्ष्यमा आज काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी, सरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ । नवरात्रीभर घर–घरमा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र पाठ पनि गर्ने प्रचलन छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार