बखरियामा त्रिपालभित्र दसैं उत्साह………

२९ असोज २०७५,
दाङ – तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती। चार वर्षअघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन्। विस्थापित भएको सुरुका वर्षमा पर्व आगमनले निकै पीडाबोध गराइदिन्थ्यो उनीहरूलाई। छिमेकमा छाउने पर्वको रौनकले यी टहरामा छुँदैछुँदैनथ्यो। तर अहिले यिनै टहरोमा हरेक पर्वको उमंग छाउँछ। ऋण गरेरै भए पनि पर्व रमाइला बन्छन्। अब पीडा मानेर के गर्ने? दसैंको चहलपल यो बस्तीमा पनि सुरु भइसकेको छ। बालबालिकालाई नयाँ पोसाकको जोहो तथा मिठोमसिनो जुटाउन बस्तीका नागरिक तल्लीन छन्। ‘नानीबाबुहरूले नयाँ लुुगा किन्न हत्ते गरिराछन्,’ विष्णा बादीले भनिन्, ‘तुलसीपुर गएर किनिदिने तयारीमा छु।’ विष्णाको परिवार दसैं सकेजति भव्य गरी मनाउने तयारीमा छ। बाढीबाट विस्थापित केही वर्ष भने उनका लागि पीडादायी रहे। ‘पहिलापहिला त चाडबाड किन आउँछन् भन्ने लाग्थ्यो? साह्रै नमज्जा लाग्थ्यो,’ उनले भनिन्, ‘अब त त्रिपालका टहरा नै ठूला घर लाग्न थालिसके, पहिलाको जस्तो पीडा लाग्दैन, सकेजति खुसी बन्ने कोसिस गर्छौं।’ हामी त जस्तो भए पनि केही भएन, तर केटाकेटीले नराम्रो मान्न थालिहाल्छन्’, विष्णाले भनिन्, ‘केटाकेटीका लागि पनि दसैं सकेजति रमाइलो बनाइदिनैपर्छ।’ उनको परिवारको गर्जो टार्ने माध्यम माछा मारेर बेच्नु हो। बबई नदीमा माछा मारेर चलेको उनको परिवारका लागि दसैंखर्च जुटाउन सजिलो भने छैन। उनी भन्छिन्, ‘गाउँमा ऋण सापट कसो नपत्याउलान्? अर्की स्थानीय हँसिला बादी दसैंको तयारीमा व्यस्त छिन्। उनको परिवारले त्रिपालको टहरोमा बसेर दसैं भव्य रूपमा मनाउने भएको छ। ‘नयाँ लुगा र मिठो खानेकुरा चाहियो भनेर केटाकेटीले अत्याइरहेका छन्,’ उनले भनिन्, ‘तुलसीपुर बजारमा गएर दसैं किन्न बाँकी छ ।’ हँसिलाको परिवारले पनि केही दुई वर्षअघिसम्म चाडपर्वको रौनकको अनुभूति गर्नै पाएनन् । विस्थापित भएपछिका केही वर्ष चाडपर्वहरू उनको परिवारका लागि पीडादायी बने। ‘पहिलापहिला पर्व आउँथे, रुवाएर जान्थे’, उनले भनिन्, ‘अब त पर्व आए भने रमाइलो लाग्छ, सरसामान जोरजाम गरेर धुमधामसँग मनाउने इच्छा पलाउँछ।’ चाडबाडमा आउने पाहुनालाई टहरोमा स्वागत गर्न निकै अप्ठ्यारो हुन्थ्यो उनलाई । साँघुरो टहरोमा पाहुना आउन मन गर्दैनथे । तर गत वर्षदेखि पाहुना सहजै आउँछन्। ‘नातागोताहरू दसैं मान्न आउनुहुन्छ, टहरामै पाहुनालाई मिठोमसिनो खुवाएर टीकाटालो गर्छौं’, हँसिलाले भनिन्, ‘बास बस्नका लागि साँघुरो टहरोमा असजिलो त हुन्छ, तर पाहुनालाई दुईतीन दिनसम्म बसालेर बिदा गर्छौं। यो बस्तीका अधिकांश विस्थापितलाई अहिले दसैंको चटारोले छोइसकेको छ। उनीहरूमा गतिलो घरबासको चिन्ताभन्दा पनि टहरोमै दसैं कसरी भव्य बनाउने भन्ने धाउन्ना छ। ‘जिन्दगीभर पीडा मानेर के गर्ने? २०७१ साउनमा आएको बाढीबाट विस्थापितमध्ये आयस्रोत बलियो भएकाहरूले आफ्नै बलबुँताले घर निर्माण गरिसकेको भए पनि आयस्रोत अत्यन्त कमजोर भएका पीडित अहिलेसम्म त्रिपालको ओतमै छन्। ‘माछा मारेर आउने पैसाले खानपान र बालबच्चाको पढाइ खर्च जेनतेन धानेका छौं,’ विष्णाले भनिन्, ‘आफ्नै बलबुँताले घर बनाउन कहिले सकिएला र?’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार