मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार

पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक ‘को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।’

पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षको कार्यभार सम्हाले । थोरै बोल्ने, गहन विचार राख्ने कोटीका लिम्वु समाजका बौद्धिक व्यक्तित्व याक्थुम्वाको पुस्तकलाई युगपुरुष सत्यमोहन जोशीले किरात याक्थुङ चुम्लुङ भवन ललितपुरमा समाजका प्रवुद्ध व्यक्तित्वहरूको माझ लोकार्पण गरे ।

लोकार्पणका अवसरमा युगपुरुष जोशीले भने ‘नेवार पनि किरातभित्र पर्दछ । हार्नेको इतिहास हुन्न भने झै कालान्तरमा किरात हौ भन्ने मान्छे छैनन् ।’ कविवर बैरागी काइलाको समिक्षात्मक टिप्पणी थियो ‘किरात महावंश हो, किरात मात्र भन्दा अर्थ पूर्ण हुन सक्दैन । जस्तो, किरात राई, किरात लिम्वु, किरात याक्खा र किरात सुनुवार भन्नुपर्दछ ।’ भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईले थपे ‘लिम्बु, राई, याख्खा र सुनुवार न्यूक्लियस किरात हुन् अन्य समुदायहरू खुल्न सकेका छैनन्, किरातकालीन इतिहासको सही ढंगले उत्खनन् गरेमा पत्ता लाग्दछ ।’ समीक्षकहरू समाजशास्त्री डा. कृष्ण भट्टचन, डा. चन्द्रकुमार शेर्मा, पुर्व न्यायधिश रामचन्द्र राईले पुस्तकले समुदायको विचमा किरात, किरात धर्म र युमा धर्मबारे प्रशस्त्र वहस पैरवी गराउने विचार व्यक्त गरेका थिए ।

पुस्तकलाई लेखकले तीन खण्डमा विभाजन गरेका छन् । को हुन किरात ? के हो किरात धर्म ? र मुन्धुमका महत्वपूर्ण अंशको व्याख्या गरेका छन् । लेखकले किरात र किरात धर्मबारे हालसम्म देशी विदेशी लेखक/लेखिकाले लेखेका पुस्तक, मुन्धुम र अन्य धर्मग्रन्थहरूमा उल्लेख भएका प्रमाणहरूको भरपुर अध्ययन गरी प्रमाणहरू पेश गरेका छन् । किरात, किरात धर्म, युमा धर्मबारे अध्ययन गर्न चाहने व्यक्तित्वहरू र जिज्ञासु अध्येताहरूको लागि पुस्तक पठनीय मात्र नभई संग्रहनीय छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार