हेडक्वार्टरले साेध्याे तस्करी बढ्नुको कारण

२३ असोज २०७५
काठमाडौं – सशस्त्र प्रहरी बल मुख्यालयले सातवटै प्रदेशका प्रमुखलाई काठमाडौं बोलाएर सीमाक्षेत्रमा बढ्दो तस्करी तथा अपराध रोक्न निर्देशन दिएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी सीमाक्षेत्रमा सुरक्षार्थ खटिँदा पनि तस्करी र अपराध बढेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएपछि मुख्यालयले डिआइजीहरुलाई काठमाडौं बोलाएको हो। राजधानी आइपुगेका सबै डिआइजीलाई लिई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दुई एआइजी नारायणबाबु थापा र पुष्पराम केसीसहित सोमबार गृह मन्त्रालय पुगेका थिए।

गृहमन्त्री रामबहादुर थापाले सीमाक्षेत्रमा हुने अपराध र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। गृहमन्त्री थापाले सीमातस्करी र अपराधका घटना नियन्त्रणमा तीन महिनाभित्र परिणाम देखिनेगरी कार्य गर्न निर्देशन दिएका थिए। उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले नियन्त्रणमा विशेष ध्यान दिन समेत सशस्त्र अधिकारीहरुलाई सचेत गराएका थिए। त्यसपछि सशस्त्र मुख्यालय फर्किएर आइजिपी खनालले सबै प्रदेश प्रमुखलाई तस्करी र अपराध रोक्न निर्देशन दिएका हुन्।

सातवटै प्रदेशका प्रमुखको ब्रिफिङ सुनेपछि तस्करी नियन्त्रण गर्न केले रोकेको हो भन्दै आइजिपी शैलेन्द्र खनालबाट प्रश्न।
राति अबेरसम्म भएको ब्रिफिङमा १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको सीमाक्षेत्रबाट बढी तस्करी हुने गरेको गुनासो आएको थियो । ‘धेरैजसो झापा, इलाम, मोरङ ,सुनसरी सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा अपराध र तस्करी बढेको गुनासो छ त्यसलाई नियन्त्रण गर्न मुख्यालयले निर्देशन दियो’, मुख्यालयमा भएको ब्रिफिङमा सहभागी एक डिआइजीले बताए।

सातवटै प्रदेशको ब्रिफिङ सुनेपछि तस्करी नियन्त्रण गर्न केले रोकेको हो भन्दै आइजिपीले प्रश्न गरेका थिए । सहभागी डिआइजीका अनुसार सुनसरीमा भारतीय गाडीमा आएको एक समूूहले खुुर्सिद अन्सारीको हत्या गरेको र सशस्त्र प्रहरीले ती हत्यारालाई रोक्न नसकेको विषयलाई समेत सशस्त्र मुख्यालयले गम्भीर रुपमा लिएको छ । ‘हत्यारा समूूहले नेपाल प्रहरीलाई गोली प्रहार गर्दै भाग्यो । त्यति बेला सशस्त्र प्रहरीको भूमिका के हुनुपथ्र्यो भन्ने प्रश्न उठेको छ, यसको जवाफ हामीसँग छैन। त्यहाँको नेतृत्व के हेरेर बसेको थियो’, सशस्त्र प्रहरीका आइजिपी खनालले १ नम्बर प्रदेशका डिआइजीलाई सोधेका थिए।

ब्रिफिङमा १ नम्बर प्रदेशका प्रमुख मन्दीप श्रेष्ठ, २ नम्बर प्रदेशका प्रमुख कवीन्द्रमान श्रेष्ठ, उपत्यकाका प्रमुख खड्ग राई, ३ नम्बर प्र्रदेशका निमित्त प्रमुख रामप्रसाद श्रेष्ठ, ४ नम्बर प्रदेशका प्रमुख प्रवीण श्रेष्ठ, ५ नम्बर प्रदेशका प्रमुख चिरञ्जीवी अधिकारी, ६ नम्बर प्रदेशका प्रमुख नागेन्द्र थापा र ४ब्ःएब्ल्म्एभ्च्४४लदकउसनम्बर प्रदेशका प्रमुख राजुराम सुवाल उपस्थित थिए। सीमा सुरक्षा विभागका प्रमुख नारायणबाबु थापा र सशस्त्र प्रहरी प्रवक्ता बाबुराम पाण्डे पनि सो अवसरमा उपस्थित थिए।

‘सीमाक्षेत्रमा औषधिजन्य लागूपदार्थ र लागूऔषधको तस्करी बढिरहेको छ, अन्य अपराध पनि बढेका छन्, त्यसको बारेमा के भएको हो, त्यसलाई नियन्त्रण गर्न कस्तो योजना छ भनेर डिआइजीहरुलाई बोलाएका हौं’, ब्रिफिङपछि आइजिपी खनालले नागरिकसँग भने। उनका अनुसार व्यापक गुनासो आएकाले टलिफोनको निर्देशन खासै प्रभावकारी नभएकाले बोलाएरै निर्देशन दिइएको हो। ‘आफ्नो क्षेत्र कसरी सुरक्षित राख्ने भन्ने विषयमा योजना निर्माण गर्ने सम्बन्धित कमान्डरको जिम्मा हो, उसको योजना के छ भनेर हामीले मागेका छौं, हेराैं कस्तो योजना आउँछ र त्यसै अनुसार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले थप योजना बनाउनेछ’, आइजिपी खनालले भने।

१० बिओपी थपिँदै
सशस्त्र प्रहरी बलले सीमासुरक्षा बढाउन भारतसँग सीमा जोडिएको क्षेत्रमा पहिलो चरणमा १० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने भएको छ । पाँचथरका प्राङबुङ र चिवाभन्ज्याङ, ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांकामा बिओपी स्थापना हुने गृह मन्त्रालयले जनाएको छ।

भारततर्फ हरेक तीन किलोमिटरमा एसएसबी रहे पनि नेपालतर्फ सीमाक्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिति शून्य भएको गुनासो आउने गरेको थियो । प्रत्येक १३ किलोमिटरमा बिओपी रहने गरी पोष्ट स्थापना हुनेछन् । बिओपीको दरबन्दी भने घटाइएको छ । अब बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली बस्नेछ । यसअघि ५० जनाको दरबन्दी थियो । सशस्त्र प्रहरी बलका महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार एकदुई महिनामै १० वटा बिओपी थपिनेछन् । ‘हिमाली जिल्लामा एउटा बिओपीको पूर्वाधार निर्माण भइसकेकाले त्यहाँ टोली खटिसकेको छ भने अन्य नौ स्थानमा पनि एक महिनाभित्रै खटिनेछन्’, खनालले भने।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार