चीनले नेपाल सरकारलाई २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने

  बगैचा सम्वाददाता

काठमाडौं

चीनले नेपाल सरकारलाई २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने भएको छ । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप यो सहयोग उपलब्ध गराउन लागेको हो । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरेका छन् । आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए । यस्तै नेपालले चीनलार्इ प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध गरेको छ । अनुरोधलाई चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएका थिए । दूतावासले जारी गरेको एक विज्ञप्तिअनुसार नेपालको उक्त अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइनेछ । उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गरेका थियो । एकचीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गरे । भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताउनुभएको उक्त दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष गर्नुभएको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार