७८ औं साहित्य श्रृंखलामा सुनिइन नेपालकी कवि कल्पना काफ्ले

  टोपबहादुर याक्खा

२८ अक्टुबर, हङकङ–  कवि कल्पना काफ्लेसंगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७८ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
नेपाल वायुसेवा निगमको जागिरकै शिलशिलामा केही दिनका लागि नेपालबाट हङकङ आइपुगेकी कवि काफ्लेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै एक–आपसमा परिचयात्मक कार्यक्रम राखिएको थियो ।
विभिन्न साहित्यिक संघ संस्थाहरुमा आवद्ध भई विशेष गरी छन्द कविता र मुक्तक विधामा कलम चलाउँदै आएकी कवि काफ्लेले आफ्नो प्रकाशोन्मुक छन्द कविता संग्रह ‘भाव सरोवर’ बाट आधा दर्जन बढी कविताहरु सुनाएकी थिईन ।

मैले भन्नु छ आज पर्ख युगकी द्रष्टा थियौं बालक
कस्तो लागिरहेछ जीवनकला यो फूलमालातक
आमा बाँच चिरायु भन्छु म यही केही नमानी धक
हाँस्दै थाम्नु छ सृष्टिकर्म थपको धर्ती नमर्दातक
(आमाको जन्मदिन शिर्षकबाट)

श्रृंखलाका सल्लाहकार बज्र कुमार राईको श्वागत मन्तब्य रहेको कार्यक्रमलाई संरक्षक दाजु गुरुङले संचालन गरेका थिए भने संयोजक डी.बी. पालुङवा, सरंक्षक राज कुमार राई तथा सल्लाहकार लालबहादुर गुरुङले मन्तब्य राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ७ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा देश विदेशका स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार