मन्त्री स्थापितलाई हटाउने तयारीमा मुख्यमन्त्री…………

मकवानपुर– प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने कुराले राजनीतिमा तरंग ल्याएको छ। मुख्यमन्त्रीकै दौडमा रहेर अन्ततः प्रदेश मन्त्री भएका स्थापित त्यसबाट समेत बर्खास्तमा पर्ने लगभग निश्चित भएको छ। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री डोरमणि पौडेलले ओली निकटका स्थापितलाई पदमुक्त गर्न लागेका हुन्। स्थापितलाई हटाएरै छाड्ने दृढतामा मुख्यमन्त्री पौडेल रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद श्रोतले बताएको छ। ‘मीडियामा आएका समाचार सत्य हुन्,’ श्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो। मुख्यमन्त्री पौडेलसँगै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल पनि बिहिबार काठमाडौं पुगेका छन्। मुख्यमन्त्री पौडेलले स्थापितलाई जसरी पनि हटाउनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चाँडै परामर्श गर्ने श्रोतले जनाएको छ। मुख्यमन्त्री पौडेलले बिहिबारै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। उनले ओलीलाई उपचाररत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेट गरेका हुन्। बुधबार हेटौंडामा बसेको प्रदेश नम्बर ३ मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच चर्काचर्की परेको थियो। बैठकमा स्थापितको मन्त्रालयको कामको गति सुस्त रहेको बताउँनासाथ मुख्यमन्त्रीमाथि स्थापित खनिएका थिए। जनतासँग प्रत्यक्ष जोडिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको काम सुस्त भएको र मन्त्री स्थापितको कार्यशैलीबारे मुख्यमन्त्रीले असन्तुष्टि जनाएका थिए। तत्काल आक्रोशित भएका स्थापितले प्रतिवाद गरेपछि विवादले ठुलो रुप लिएको थियो। अन्ततः विवाद अपशब्द प्रयोग गर्दै गालीगलौजसम्म पुगेको मन्त्रिपरिषद् स्रोतको दाबी छ। उनका अनुसार बैठकमै मुख्यमन्त्रीमाथि मन्त्री स्थापितले जथाभावी मुख छाड्दै हातपात समेत गर्न खोजेका थिए। पौडेललाई मुख्यमन्त्री बनाउँन भुमिका खेलेपनि स्थापित र पौडेलबिच मतभिन्नता रहेको थियो। राजमार्गलाई हेटौंडा बजारबाटै सडक विस्तार गर्न नहुनेमा अभियानमा पौडेल रहेका थिए भने सडक विस्तारको पक्षमा स्थापित थिए। यता, मन्त्री स्थापितले भने आफुहरुबिच सामान्य चर्काचर्की मात्र भएको भन्दै बचाऊ गरेका छन्। आफ्नो स्वर नै ठुलो भएको भन्दै उनले गालीगलौज पनि नगरेको जिकिर गरे। मुख्यमन्त्रीले मन्त्री पदबाट हटाउने कुरा पनि हल्ला मात्रै भएको मन्त्री स्थापितले बताए। मुख्यमन्त्री पौडेलको कुरामा प्रधानमन्त्री ओली सहमत भए भने सत्तारुढ नेकपाको सिफारिसमा स्थापित पदमुक्त हुनेछन्। स्थापितलाई विगतमा पटकपटक रुझाएर राखेका ओलीका लागि त्यस्तो निर्णय लिन सहज भने नदेखिएको पार्टीनिकट श्रोतले जनाएको छ। त्यसमाथि नेकपाभित्रको गुटबन्दीका कारण पार्टीसँगै प्रदेश मन्त्रिपरिषद् समेत स्थापितको पक्ष र विपक्षमा विभाजित भएपछि अन्यौलता छाएको छ। यसअघि स्थापितमाथि एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लाएकी थिइन्। काठमाडौं महानगरका पूर्व मेयर स्थापितले १५ वर्ष अघि महिला कर्मचारीमाथी यौन हिंसा गरेको आरोप छ। पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थापितको कुरा नमान्दा जागिर गुमाउनु परेको दाबी गरेकी थिइन्। तर स्थापितले भने आरोपको खण्डन गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार