आदिवासी झङ्कारमा विभिन्न जातिय झाँकी प्रदर्शन

  टोपबहादुर याक्खा

४ नोभेम्बर, हङकङ– विभिन्न जातिय झाँकीहरुसंगै काउली बुढी (सन्ध्या बुढा) र फुलन्देको बाउ (मौषम लिम्बु) को प्रस्तुतीका साथ आदिवासी झङ्कार सम्पन्न भयो ।
नेपाल आदिवासी जनजाती महासंघ हङकङद्धारा याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा संघमा आवद्ध किरात याक्थुम चुम्लुङले केलाङ, किरात राई यायोक्खाले साकेला शिली, किरात याक्खा छुम्माले डोकेनी लाक, सुनुवार समाजले ष्याँदर शिली, नेवार समाजद्धारा लाखे नाँच, गुरुङको घाटु नृत्यका साथै मगर संघ लगायतले आ–आफ्ना मौलिक नृत्य प्रदर्शन गरेका थिए ।
जातिय सद्भाव कायम रहोस भन्ने कामना सहित अतिथिहरुद्धारा विभिन्न कलरका रिबनहरुलाई एउटै डोरीमा बाँधेर उद्धघाटन गरिएको कार्यक्रममा संघका अध्यक्ष किसन राई र सल्लाहकार हेजेन राईद्धारा आदिवासी वर्ष पुरुष एम.बी. थापामगरलाई फेटा गुथाएर सम्मान गर्नुका साथै सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
विभिन्न जातिय झाँकीहरुसंगै काउली बुढी र फुलन्देको बाउको प्रहसनले सबैलाई हसाएको थियो भने नेपालबाटै आएकी कलाकार आङ निग्मा शेर्पा, तिलक सोमै मगर, सुबास गुरुङ, रोशा लिम्बु, राजु आङदम्बे, पवित्रा साम्पाङ राई, हर्षित आले चङसु,  कृष्णभक्त महर्जन लगायतले आ–आफ्ना भाषाका गीतहरु प्रस्तुत गरेका थिए ।

१९९८ मा स्थापित महासंघमा हङकङका ११ वटा जातिय संघ संस्थाहरु आवद्ध रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार